१९ मंसिर २०८२, शुक्रबार

समृद्धिका लागि युवा परिचालन प्राथमिकता-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  5 June, 2025 8:26 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिका संवाहकका रूपमा युवालाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताएका छन् ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–१ मा आयोजित प्रगतिशील युवा समाजसँगको छलफलमा बोल्दै मुख्यमन्त्री आचार्यले कृषि, उद्यम व्यवसाय, समुदाय परिचालन र सशक्तीकरणजस्ता क्षेत्रमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न नीति बनाइएको स्पष्ट पारे ।

“प्रदेशको विकासका लागि युवा शक्ति नै मुख्य आधार हो,” मुख्यमन्त्री आचार्यले भने, “सरकारले युवामैत्री कार्यक्रम तयार पार्दै बजेटमा समेत त्यसको समावेश गर्दैछ ।”

उनले विशेषगरी बाल विवाहमुक्त प्रदेश बनाउने अभियानमा किशोर–किशोरीहरूको सशक्त सहभागिता आवश्यक रहेको धारणा राखे । मातृ र बाल मृत्युदर बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उनले स्वास्थ्य तथा पोषणका क्षेत्रमा समेत युवाको परिचालन अत्यावश्यक भएको बताए ।

भेटका क्रममा युवा समाजका अध्यक्ष दुर्गेश यादवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार गर्ने बजेट तथा योजनामा युवामुखी कार्यक्रमलाई प्राथमिकता दिन माग गरेका थिए ।

प्रतिनिधिमण्डलका सदस्यहरूले बाल क्लव, युवा क्लव र महिला समूहहरूसँग मिलेर सामाजिक रूपान्तरणका लागि सडक नाटक, र्‍याली, विद्यालय भर्ना अभियान, क्षमता अभिवृद्धि तालिमलगायत सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराएका थिए।

मुख्यमन्त्री आचार्यले युवाको यस सक्रियताप्रति सराहना गर्दै सरकार युवाहरूको साथमा रहेको र उनीहरूको सुझाबलाई आगामी योजनामा समावेश गरिने प्रतिबद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस !