२५ मंसिर २०८२, बिहिबार

एमालेमाथि चौतर्फि घेराबन्दी र आक्रमण भइरहेको छ- महासचिव पोखरेल

प्रकाशित मिति :  5 June, 2025 5:12 pm


भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले नेतृत्वको सरकारले राम्रा काम गर्दै आएको भएपनि पार्टी तथा प्रधानमन्त्रीमाथि चौतर्फी घेराबन्दी र नियोजित आक्रमण भइरहेको आरोप लगाएका छन् ।

नेकपा (एमाले) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागद्वारा भक्तपुरको डोलेश्वरमा आयोजित प्रदेशस्तरीय प्रचार कार्यशालामा बोल्दै महासचिव पोखरेलले सामाजिक सञ्जालको दुरुपयोग गर्दै एमाले र नेतामाथि नियोजित रूपमा प्रहार भइरहेको उल्लेख गरे ।

“सरकारको नेतृत्वमाथि आक्रमण भइरहेको छ, नेतामाथि प्रहार भइरहेको छ,” उनले भने, “यसलाई एमाले प्रचार विभागले चिरेर जानुपर्छ।”

उनले मुलुकको समृद्धि, सुशासन र विकासको नेतृत्व गर्न एमाले प्रतिबद्ध रहेको बताउँदै एक वर्षभित्र विकासशील राष्ट्रमा प्रवेश गर्ने १० मुलुकमध्ये नेपाल पहिलो हुने सम्भावना रहेको दाबी गरे ।

साथै, ‘मिशन ८४’ लाई सफल बनाउन पार्टीका प्रभावकारी कार्यहरू आम जनतासम्म पुर्‍याउन प्रचार अभियानलाई अझ सशक्त बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जनताको धारणा अनुरूप सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), सामाजिक सञ्जाल, अनलाइन र मल्टिमिडिया माध्यमको प्रभावकारी प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।

त्यसैगरी, बागमती प्रदेश कमिटीका उपाध्यक्ष दावा दोर्जे लामा, प्रचार विभाग प्रमुख भक्तकुमारी लामालगायत नेताहरूले पार्टी नेतृत्व तथा सरकारमाथि भइरहेका गलत प्रचारविरुद्ध संगठित रूपमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट प्रतिकार गर्नुपर्नेमा जोड दिए ।

दुईदिने कार्यशालाको पहिलो दिन पार्टी प्रचार र प्रविधिबारे विष्णु रिजाल, मिडिया र एजेण्डा सेटिङबारे मातृका पौडेल, तथा माक्र्सवाद र समाजवादबारे सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रशिक्षण दिएका थिए ।

दोश्रो दिन राजेन्द्र गौतम, दिपेन्द्र श्रेष्ठ, नवराज सिलवाल, हिरामान लामा, भुवन केसी, प्रदीप ज्ञवाली र भक्तकुमारी लामाबाट प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !