२५ मंसिर २०८२, बिहिबार

मुख्यमन्त्री आचार्यको आह्वान-मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न सबै सक्रिय बनौं

प्रकाशित मिति :  6 June, 2025 11:21 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो मनसुनमा सम्भावित विपद्‌बाट हुने क्षति न्यूनीकरण गर्न सक्रिय पूर्वतयारीमा जुट्न सबै सरोकारवालालाई आह्वान गरेका छन् ।

लमही नगरपालिका–६, मध्यनगरमा शुक्रबार आयोजित ‘हातेमालो–७’ नामक प्रदेशस्तरीय एकीकृत अभ्यास कार्यक्रममा सम्बोधन गर्दै उहाँले “विपद् पूर्व जानकारी दिएर आउँदैन, तयारीमै उद्धारको सफलता निहित हुन्छ” भन्ने धारणा व्यक्त गरे ।

उनले प्रदेश सरकारले विपद्‌ पूर्वतयारीलाई उच्च प्राथमिकतामा राख्दै खोज, उद्धार र राहतका कार्यका लागि चाहिने सामग्री तथा उपकरण व्यवस्थापनमा गम्भीरता देखाएको उल्लेख गरे । तीनवटै सुरक्षा निकायलाई आवश्यक उद्धार सामग्री उपलब्ध गराइने जानकारी उनले दिए ।

मुख्यमन्त्री आचार्यले स्थानीय स्रोतको उपयोग र समुदायको सक्रिय सहभागितामार्फत मात्रै विपद् प्रतिकार्य प्रभावकारी हुन सक्ने भन्दै स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकता दिइने बताए ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी असरको प्रक्षेपण
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना ०८२’ अनुसार यो वर्ष लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने प्रदेशका रूपमा चिनिएको छ ।

अनुमान अनुसार यस वर्ष लुम्बिनी प्रदेशका १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या प्रत्यक्ष रूपमा प्रभावित हुने सम्भावना छ ।

पछिल्लो १० वर्षको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा १६१८ वटा मनसुनजन्य विपद्‌का घटना घटेका छन् जसमा ४५९ जनाको मृत्यु, ६१९ जना घाइते र ३२ जना बेपत्ता भएका छन् ।

अभ्यास कार्यक्रम ‘हातेमालो–७’ मा व्यवहारिक प्रदर्शन
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा विपद्को बेलामा व्यवहारिक खोज तथा उद्धार कार्य प्रस्तुत गरेका थिए । साथै, रेडक्रसकर्मी तथा सुरक्षाकर्मीहरूले प्रयोग हुने प्राथमिक उपचार सामग्री र उपकरणहरूको प्रदर्शनी गर्दै जानकारी गराएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, नेपाली सेना मध्यपश्चिम पृतनाका पृतनापति उपरथी प्रेमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, प्रहरी तथा सशस्त्रका उच्च अधिकारी, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, रेडक्रस स्वयंसेवक, र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !