२० मंसिर २०८२, शनिबार

बझाङको बाम्कामा भीषण आगलागी : आठ करोडभन्दा बढीको क्षति

प्रकाशित मिति :  7 June, 2025 1:51 pm


काठमाडाैँ । बझाङको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारस्थित नवदुर्गा होटलमा शुक्रबार अपराह्न ग्यास सिलिण्डर पड्किएर भएको भीषण आगलागीमा ३५ वटा व्यवसायिक पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेलुकी ३ः३० बजे ग्यास सिलिण्डर विस्फोट भई फैलिएको आगोले पूरै बजारको स्वरूप नै परिवर्तन गरिदिएको छ ।

आगलागीबाट करोडौंको क्षति भएको पुष्टि गर्दै प्रहरी निरीक्षक एवं सूचना अधिकारी देवबहादुर चौधरीले हालसम्मको प्रारम्भिक विवरणमा ३५ पसल जलेको र कुल क्षति करीब रु ८ करोड ७७ लाख ६५ हजार पुगेको जानकारी दिए ।

सबैभन्दा धेरै क्षति योगनाथ न्यौपानेको किनारा पसलमा भएको छ, जसमा रु १ करोड ८० लाख बराबरको क्षति पुगेको छ। त्यसैगरी तोयानाथ न्यौपाने, छत्र थापा र धनबहादुर साउदको प्रत्येक पसलमा करिब रु १ करोड ५० लाख बराबरको क्षति भएको छ ।

अन्य प्रभावित व्यापारीहरूमा दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापा छन्, जसको क्षतिको मूल्याङ्कन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगलागीले फेन्सी, मेडिकल, इलेक्ट्रोनिक, पुस्तक पसल र होटलहरू पनि जलेर नष्ट भएका छन् । यसैबीच, भगतराज गिरीको सुप्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल समेत जलेर नष्ट भएको छ ।

स्थानीय तहसँग अग्नि नियन्त्रण दमकलको अभावले गर्दा क्षति अझ भयावह बनेको पीडितहरूको गुनासो छ। पीडित व्यापारी छत्र थापाले भने, “स्थानीय तहसँग दमकल भएको भए ठूलो क्षति हुनबाट जोगिन सकिन्थ्यो ।”

घटनापछि बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि प्रदेश र संघ सरकारसँग सहयोग माग गर्ने निर्णय गरेको छ ।

घटनाको जानकारी पाएलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रभावित क्षेत्रमै पुगेका छन्। उहाँको निजी सचिवालयका अनुसार मन्त्री पाण्डेले आगलागी प्रभावितहरूका समस्या सुन्ने र क्षतिको अवलोकन गर्ने उद्देश्यले घटनास्थलको अनुगमन गर्नुभएको हो।

भीषण आगलागीले व्यवसायिक केन्द्र बाम्का बजारलाई ठूलो आर्थिक र भौतिक क्षति पु¥याएको छ। अब आवश्यक राहत, पुनःस्थापना र जोखिम न्यूनीकरणका दीर्घकालीन योजनाहरूको माग स्थानीयवासी र व्यापारीहरूले गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस !