१९ मंसिर २०८२, शुक्रबार

पूर्व राज्यमन्त्री महेश चौधरीको दोस्रो स्मृति दिवस मनाइयो

प्रकाशित मिति :  7 June, 2025 4:21 pm


दाङ । नेकपा एमाले दाङले केन्द्रीय परिषद् सदस्य तथा पूर्व स्थानीय विकास राज्यमन्त्री स्वर्गीय महेश चौधरीको दोस्रो स्मृति दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।

दाङको बैबाङमा आयोजित स्मृति सभामा बोल्दै एमाले केन्द्रीय सदस्य सीता सिग्देल न्यौपानेले चौधरीलाई स्वाभिमानी, राष्ट्रवादी र जनजाति आन्दोलनका अग्रणी व्यक्तित्वको रूपमा स्मरण गरिन् ।

“उहाँले जीवनभर जनताको पक्षमा आवाज उठाउँदै सामाजिक आन्दोलनमा आफूलाई समर्पित गर्नुभयो,” उनले भनिन्, “हामी सबैले उहाँले देखाएको बाटो पछ्याउनु पर्दछ ।”

थारू समुदायका अगुवा नेताका रूपमा चिनिने चौधरी दंगिशरण–१, बैबाङ निवासी थिए । वि.सं. २०४८ मा राष्ट्रिय सभा सदस्य बनेका उनले २०५४ मा स्थानीय विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

साहित्यिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत सक्रिय चौधरीले वि.सं. २०२८ सालमै थारू भाषाको पहिलो साहित्यिक पत्रिका ‘गोचाली’ प्रकाशन गरेका थिए ।

उनका चर्चित कृतिहरूमा ‘द हिडन ट्रेजर अफ द लो ल्याण्ड नेपाल’ (भाग १ र २), ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, ‘स्थविरहरूको प्राचीन इतिहास र संस्कृति’, थारू भाषाको पहिलो गीति नाटक ‘छारा’ र ‘लिरौसी व्याकरण’ समावेश छन् । चौधरीको निधन २०८० जेठ २४ गते भएको थियो ।

कार्यक्रम एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा प्रदेश सचिव लक्ष्मण आचार्य, चौधरीकी जीवनसंगीनी शान्ति चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, बुद्धिजीवी परिषद् दाङका अध्यक्ष तिर्थ न्यौपाने, प्राध्यापक केबी चौधरी, स्याम आचार्य र रामबहादुर जिसीले स्वर्गीय चौधरीको राजनीतिक र सामाजिक योगदानको स्मरण गरे । कार्यक्रमको सहजीकरण जिल्ला सचिवालय सदस्य तथा निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !