१९ मंसिर २०८२, शुक्रबार

युवालाई नवप्रवर्तन र रोजगारीमा जोड्छौँ-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  7 June, 2025 5:29 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवाको भूमिकालाई केन्द्रमा राख्दै प्रविधि, उद्यमशीलता र रोजगारीमूलक योजनालाई सरकारको प्राथमिकतामा राखिएको स्पष्ट पारेका छन् ।

शनिबार राप्ती उपत्यका (देउखुरी) मा नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसँग भएको छलफलमा मुख्यमन्त्री आचार्यले ‘जेन जि’ पुस्तालाई लक्षित गरी स्टार्टअप तथा इनक्युबेसन कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनले भने, “लुम्बिनी प्रदेशमा स्टार्टअपलाई सुदृढ बनाउनु आजको आवश्यकता हो। युवालाई नवप्रवर्तनमा सक्रिय सहभागी गराई स्वरोजगार सिर्जना गर्नु सरकारको लक्ष्य हो ।”

निजी क्षेत्रसँग सहकार्यको तयारी
मुख्यमन्त्री आचार्यले नवीन प्रयास र नवप्रवर्तन प्रवद्र्धनका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए । उनले नवप्रवर्तनको वातावरण सिर्जना गर्दै युवालाई उत्पादकशीलताको मूलधारमा ल्याउन सरकारले आवश्यक नीति र कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

परिसंघको प्रस्ताव : स्टार्टअप इनक्युबेसन केन्द्र स्थापना
छलफलका क्रममा नेपाल उद्योग परिसंघले लुम्बिनी प्रदेशमा स्टार्टअप इनक्युबेसन सेन्टर स्थापना गर्न सकिने प्रस्ताव अघि सारेको थियो । त्यसका लागि आवश्यक सहकार्य तथा नीतिगत सहयोग प्रदेश सरकारबाट अपेक्षित रहेको परिसंघले जनाएको छ ।

परिसंघका अनुसार एग्रिटेक, पर्यटन, र डिजिटल सेवा जस्ता क्षेत्रहरूमा स्टार्टअप योजनाहरू कार्यान्वयन गर्न सकिनेछ । यसले युवाको नवीन सोचलाई व्यवसायिक रूप दिने, स्थानीय सीप र स्रोतको सदुपयोग गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रदेशको नवप्रवर्तन क्षमतालाई संस्थागत बनाउँदै आर्थिक विकासको नयाँ ढोका खोल्ने लक्ष्यसहित लुम्बिनीमा स्टार्टअप इनक्युबेसन केन्द्र स्थापनाको प्रक्रिया अघि बढाउने तयारी गरिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !