शुक्रबारको तुलनामा सुन तोलामा रु ३ हजारले सस्तो, चाँदी पनि घट्यो
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा रु ३ हजारले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा रु ५ ले घटेको हो ।
महासङ्घले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज छापावाला सुनको मूल्य तोलामा रु १ लाख ९० हजार ७०० कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा रु १ लाख ९० हजार १०० रहेको छ ।
चाँदीको मूल्य पनि घट्दै आज तोलामा रु २ हजार १४५ मा कारोबार भएको छ । उता, अन्तरराष्ट्रिय बजारमा समेत सुनको मूल्यमा गिरावट देखिएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुनको मूल्य ३ हजार ३११ अमेरिकी डलरमा कायम भएको छ ।
विश्लेषकहरूका अनुसार अमेरिका र युरोपका आर्थिक सूचकांकहरूमा देखिएको उतारचढाव, अमेरिकी डलरको मजबूती र केन्द्रीय बैंकहरूको नीतिगत निर्णयको प्रभावले विश्वबजारमा सुनचाँदीको मूल्यमा चाप परेको हो ।








