२० मंसिर २०८२, शनिबार

मर्चवारको खेतमा जलेको अवस्थामा भेटिएकी सिर्जना

प्रकाशित मिति :  8 June, 2025 11:49 am


रुपन्देही । मर्चवार क्षेत्रमा एक युवतीको जलेको अवस्थामा शव फेला परेको घटनाले गाउँमा सनसनी फैलिएको छ । रुपन्देहीकाे सम्मरीमाई गाउँपालिका–५ की २२ वर्षिया सिर्जना पाल घरदेखि करिब १ किलोमिटर टाढा रहेको खेतमा जलेको अवस्थामा मृत फेला परेकी हुन् । शनिबार राति भएको उक्त घटनापछि उनका पति प्रमोद पाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

घटनास्थलबाट सुरु भएको अनुसन्धान अहिले सिर्जनाको घरको आँगनसम्म आइपुगेको छ । रुपन्देही प्रहरीका डीएसपी गणेश सापकोटाका अनुसार राति ३ बजेतिर खोलानजिकै शव रहेको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । अनुसन्धानमा संलग्न कुकुरले महिलाको घरसम्म पुर्‍याएको हुँदा घटनाको केन्द्रबिन्दु घर नै हुन सक्ने प्रारम्भिक संकेत देखिएको सापकोटाको भनाइ छ ।

“कुकुरले शव रहेको स्थानदेखि सीधै घरसम्म पुर्‍याएको छ,” डीएसपी सापकोटा भन्छन्, “यसको अर्थ के हो भन्नेबारे अझ अनुसन्धान भइरहेको छ । आत्महत्या हो वा योजना बनाएर हत्या गरिएको भन्ने पुष्टि हुन बाँकी छ ।”

शवको अवस्था र आगोको प्रयोगले घटनालाई झनै रहस्यमय बनाएको छ । मृत्युका कारणबारे प्रहरी मौन देखिए पनि प्रारम्भिक अनुसन्धानबाट प्राप्त संकेतले सिर्जनालाई राति घरबाटै खेतसम्म लैजानु परेको अनुमान गर्न सकिन्छ ।

पति प्रमोद पालले दिएको प्रारम्भिक बयानले झनै शंका उत्पन्न गराएको छ । उनका अनुसार उनीहरू सँगै सुतेका थिए तर राति एक्कासी यस्तो घटना घटेको हो । उनको बयानप्रति प्रहरीले शंका गर्दै घटनाको पृष्ठभूमि खोजिरहेको छ।

कसरी सुरु भयो प्रेम ?

प्रमोद र सिर्जनाबीच १५ महिनाअघि मागी विवाह भएको थियो । तिलोत्तमाका माधव गडेरियाकी छोरी सिर्जनालाई प्रमोदले घर भित्र्याएका थिए । वडाध्यक्ष श्रवणकुमार यादवका अनुसार उनीहरूबीच खासै घरेलु कलहको जानकारी गाउँलेमा थिएन । ‘‘राति ९ बजेसम्म माइतीसँग कुरा गरेकी रहिछन्,‘’ वडाध्यक्ष यादवले भने, ‘माइती पक्षका भनाइ पनि चित्त बुझ्ने खालका छन् । अब अनुसन्धानबाट नै यथार्थ खुल्नेछ ।’‘

सिर्जनाले सन्तान जन्माएकी थिइनन् । प्रारम्भिक रूपमा देखिएको पारिवारिक शान्ति र पछिल्लो घटना बीचको विरोधाभासले अनुसन्धानको पाटोलाई थप गम्भीर बनाएको छ ।

युवतीहरूको सुरक्षाको सवालमा बारम्बार उठाइने प्रश्न यहाँ फेरि दोहोरिएको छ-के सिर्जनाको मृत्युलाई आत्महत्या भनेर छोप्न खोजिँदैछ ? यदि हत्या हो भने किन, कसले र कसरी यस्तो अमानवीय तरिकाबाट हत्या गर्‍यो ?

घटनाले केवल एउटा परिवार मात्र होइन, सम्पूर्ण गाउँ र समाजमा शंका, पीडा र असहजता छाडेको छ। अनुसन्धान निष्पक्ष र तथ्यमा आधारित भएर अघि बढोस् भन्ने चाहना सिर्जनाका माइती, गाउँले र सम्पूर्ण समाजको हो । जबसम्म सत्य बाहिर आउँदैन, मर्चवारको त्यो रात गहिरो अँध्यारोका रूपमा स्मृतिमा रहिरहनेछ ।



प्रतिक्रिया दिनुहोस !