२० मंसिर २०८२, शनिबार

राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्ने

प्रकाशित मिति :  8 June, 2025 1:04 pm


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थामा चर्को तरलता देखिएपछि केन्द्रीय बैंकले यो रकम संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन गर्न लागेको जानकारी दिँदै उक्त रकमको साँवा तथा ब्याज भुक्तानी आगामी २०८२ साउन ४ गते गरिने जनाएको छ । निक्षेप संकलन खुला प्रतिस्पर्धात्मक बोलकबोलको माध्यमबाट हुनेछ।

बोलकबोल प्रक्रियामा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। यस प्रकारको निक्षेप संकलन उपाय राष्ट्र बैंकको मौद्रिक उपकरणहरूमध्ये एक हो, जसअन्तर्गत बजारमा रहेको अत्यधिक तरलता नियन्त्रण गर्न प्रयत्न गरिन्छ ।

वर्तमान अवस्थामा बैंकिङ प्रणालीमा चर्को लिक्विडिटी (तरलता) देखिएकाले राष्ट्र बैंकले यो उपकरण प्रयोगमा ल्याएको हो। यसले बैंकहरूलाई छोटो अवधिको तरलता व्यवस्थापनमा सघाउ पुर्‍याउने र मौद्रिक सन्तुलन कायम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यसअघि पनि राष्ट्र बैंकले आवश्यकताअनुसार विभिन्न अवधिका लागि निक्षेप संकलन गर्दै आएको छ। यसपटकको निक्षेप संकलनमार्फत केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने प्रयास गरेको देखिन्छ।



प्रतिक्रिया दिनुहोस !