६ असार २०८२, शुक्रबार

कालाकाटे–सिक्टा सडक निर्माणमा ढिलाइ : राजपुर–७ मा संघर्ष समिति सक्रिय

प्रकाशित मिति :  9 June, 2025 8:55 pm


देउखुरी । हुलाकी राजमार्गअन्तर्गतको कालाकाटे–सिक्टा सडक खण्ड निर्माणमा लामो समयदेखि भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै राजपुर गाउँपालिका–७ मा तदर्थ संघर्ष समिति गठन गरिएको छ ।

साेमबार वडाध्यक्ष पुस्कर वलीको संयोजकत्वमा गठन गरिएको यस समितिमा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको छ ।

सडकको सुस्त गतिमा निर्माण भइरहेकाले दैनिक जीवन प्रभावित भएको भन्दै संघर्ष समिति दबाबमूलक गतिविधिमा उत्रिन तयार भएको छ । संयोजक वलीले भने, “वर्षायाममा सडक हिलोमय र घुम्नै नसकिने हुन्छ, यात्रुहरू हैरान छन्। अब हामी चुप बस्दैनौँ, दबाब सिर्जना गर्छौं ।”

समितिले सडक निर्माणमा भएको ढिलाइको यथार्थ विवरणसहित हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जमा छिट्टै ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । ज्ञापनपत्रमा निर्माणमा भइरहेको ढिलाइको कारण, जनस्वास्थ्यमा परेको असर, तथा जनगुनासोलाई सम्बोधन गर्न तत्काल पहल गर्नुपर्ने माग गरिनेछ ।

स्थानीयवासीहरू वर्षौंदेखि धुलो, हिलो, र असहज यातायात व्यहोर्दै आएका छन् । निर्माण अलपत्र हुँदा स्वास्थ्य समस्या, आर्थिक गतिविधि र विद्यार्थीहरूको आवत–जावतमा पनि प्रतिकूल असर परेको संघर्ष समितिको भनाइ छ । “यदि समयमै काम अगाडि बढाइएन भने हामी चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्छौं,” वलीको चेतावनी छ ।

यसबीच, हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जका प्रमुख इञ्जिनियर लीला बहादुर भण्डारीले भने निर्माणको ढिलाइ आर्थिक स्रोतको अभावकै कारण भएको स्पष्ट पारे । उनका अनुसार, “ठेक्का प्रक्रिया अघि बढाउन पटक–पटक प्रयास गर्यौँ, तर बजेट नहुँदा प्रक्रिया थाल्न सकेनौँ ।”

भण्डारीका अनुसार, राजपुरको गंगदीदेखि दाङ सीमाको हाडबाससम्मको २० किलोमिटर सडक खण्डको प्रारम्भिक वातावरणीय परीक्षण सकिएको छ । “यदि बहुवर्षीय स्रोत सुनिश्चित भयो भने दुई वर्षभित्र सडक निर्माण सकिनेछ,” उनले बताए।

यसरी, राजपुर–७ मा सडकको विषयले फेरि आन्दोलनको रुप लिँदैछ। स्थानीयवासीको आक्रोश, निर्माण कार्यालयको विवशता, र वर्षायामको चुनौतीबीच कालाकाटे–सिक्टा सडक निर्माण कहिले पूरा होला भन्ने प्रश्न भने यथावत् छ ।



प्रतिक्रिया दिनुहोस !