माओवादी केन्द्र जनतासँग पुनः जोडिने अभियानमा- अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान जनतासँग पुनः जोडिने अभियान थालेको बताएका छन् ।
आज आयोजित एक विशेष पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले विगतका गल्ती र कमजोरी सच्याउँदै पार्टीले सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा अग्रसर रहेको बताए ।
“समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ,” अध्यक्ष दाहालले भने, “यो अभियानमा जोडिन म सबैलाइ आग्रह गर्दछु ।”
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहितका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
अध्यक्ष दाहालले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गर्दै भने, “यो पार्टी प्रवेश र समायोजनले हाम्रो अभियानमा थप ऊर्जा तथा उत्साह ल्याउनेछ ।”
उनले माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुने व्यक्तिहरूलाई योग्य जिम्मेवारी दिइने पनि स्पष्ट पारे ।
पार्टी स्रोतका अनुसार अभियान देशव्यापी रूपमा सञ्चालन गरिनेछ र स्थानीयस्तरमै जनसंगठन तथा पार्टी संरचना सुदृढ पारिनेछ ।