मधेश फुड फोरम २०८२ सम्पन्न: ५१९ करोड रुपैयाँको लगानी प्रतिवद्धता, कृषि प्रणाली रूपान्तरणमा मधेश अगाडि
जनकपुर । ‘मधेश फुड फोरम २०८२’ औपचारिक रूपमा धनुषा जिल्लाको लालगढमा सम्पन्न भएको छ। कार्यक्रमले समावेशी, जलवायु-सहनशील र लगानीमैत्री कृषि-खाद्य प्रणाली निर्माणप्रति मधेश प्रदेशको प्रतिबद्धतालाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ।
यो फोरम मधेश प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य तथा कृषि संगठन (एफएओ) तथा विश्व खाद्य मञ्च (डब्लुएफएफ) नेपालको सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रममा खाद्य प्रणाली रूपान्तरणमा मधेश प्रदेशको अग्रसरता झल्किएको थियो।
फोरमको मुख्य आकर्षण करिब ५१९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता रहेकाे छ । कृषि, वन, खाद्य प्रशोधन र चिस्यान केन्द्र (कोल्ड स्टोरेज) क्षेत्रहरूमा गरिने यी लगानी निजी क्षेत्रका लगानीकर्ता र प्रदेश सरकारबीच भएका सम्झौतामार्फत सुनिश्चित भएका हुन्।
फाेरमले मधेशलाई कृषि विकासको रणनीतिक केन्द्रको रूपमा चिनाएको सहभागीले जनाएका छन् । सार्वजनिक–निजी साझेदारी सुदृढ गर्दै ग्रामीण रोजगारी सिर्जना र खाद्य सुरक्षाको स्तर उकास्ने सम्भावना देखिएको निश्कर्ष फाेरमकाे छ ।
फोरमको उद्घाटन तथा प्लानल छलफल लालगढस्थित हाेटेल गाैतममा सम्पन्न भएकाे हाे । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरकारका वरिष्ठ अधिकारीहरू, युवा उद्यमी, निजी क्षेत्रका नेतृत्वकर्ताहरू, विकास साझेदारहरू, नागरिक समाजका प्रतिनिधि र सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।
मुख्य अतिथि प्रदेश प्रमुख मन्त्री सतीश कुमार सिंहले मधेशलाई नेपालकै कृषि रूपान्तरणको अगुवा प्रदेशका रूपमा प्रस्तुत गरे। उनले स्थानीय नवप्रवर्तनमा लगानी, नीति र व्यवहारबीचको दूरी घटाउने र परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने आवश्यकता औंल्याए। “मधेशसँग खाद्य प्रणाली रूपान्तरण गर्ने ठूलो सम्भावना छ। यो सम्भावना साकार पार्न किसान, महिला र युवालाई केन्द्रमा राख्नुपर्छ,” उनले भने।
प्रदेश अर्थमन्त्री सुनिल कुमार यादवले मधेशको विकास रणनीतिमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख गर्दै सिँचाइ, कृषि उद्यम विकास र किसान सहायता प्रणालीमा बजेट केन्द्रित गरिने जानकारी दिए। “अब हामी ग्रामीण समृद्धि र जलवायु अनुकूलतासँग मेल खाने योजना बनाउनेछौं,” उनले भने।
खाद्य तथा कृषि संगठनका महानिर्देशकका विशेष प्रतिनिधि ड्यानियल गुस्ताफ्सनले मधेश प्रदेशलाई “विश्वकै पहिलो प्रादेशिक स्तरको खाद्य फोरम आयोजना गर्ने प्रदेश” को रूपमा प्रशंसा गरे। “मधेशले नेपालको मात्र होइन, विश्वका अन्य क्षेत्रहरूलाई पनि उदाहरण दिइरहेको छ। अब युवाले कृषि क्षेत्रलाई सम्भावनाको सीमाना भनेर हेर्न थाल्नुपर्छ,” उनले भने।
नेपाल र भुटानका लागि खाद्य तथा कृषि संगठन (एफएओ) का प्रतिनिधि केन शिमिजुले मधेशको ऐतिहासिक र सांस्कृतिक सम्पदा, तथा प्राविधिक साझेदारीबारे चर्चा गर्दै एफएओको मधेशमा बलियो उपस्थिति रहेको बताए। उनले यो फोरम आयोजना गर्न मधेश उपयुक्त स्थान रहेको धारणा व्यक्त गरे।
स्थानीय तहको धारणा प्रस्तुत गर्दै राष्ट्रिय गाउँपालिका महासंघकी उपाध्यक्ष ममता महतोले भनिन्, “मधेशले देशलाई खुवाउने क्षमता राख्छ, तर त्यसका लागि तीनै तहका सरकार र विकास साझेदारबीच सहकार्य आवश्यक छ।” उनले दिगो कृषि अभ्यास विस्तार गर्न सबै तहको सहकार्य अपरिहार्य रहेको बताइन्।
फोरमको समापन सत्रमा मन्त्री जनार्दन सिंह क्षेत्रीले अब संवादबाट कार्यान्वयनमा रूपान्तरण गर्ने समय आएको बताए। “अब मधेशले के दिन सक्छ भन्ने कुरा होइन, हामीले कृषि गर्ने तरिकामै आमूल परिवर्तन गर्नुपर्ने अवस्था आएको छ,” उनले जोड दिए। उनले मधेशका उपजाउ जमिन, रणनीतिक योजना र निजी क्षेत्रसँगको सहकार्यलाई रूपान्तरणको आधारका रूपमा प्रस्तुत गरेका छन् ।
यो फोरम विश्व खाद्य मञ्च, खाद्य तथा कृषि संगठनको ‘हातेमालो पहल’ को अवधारणासँग मेल खाने गरी आयोजना गरिएको हो। फोरमले खाद्य असुरक्षा, जलवायु संवेदनशीलता र ग्रामीण गरिबीका चुनौतीहरू समाधान गर्न साझा नीति, लगानी र नवप्रवर्तनको मञ्च प्रदान गरेको छ। साथै, यसले निजी लगानी, युवा उद्यमशीलता र दिगो विकासका नयाँ अवसरहरू पनि खोलेको छ।








