रोल्पा नगरपालिकामा दरबन्दीविहीन शिक्षकलाई तलब, महालेखाले औँल्यायो ५९ लाखको अनियमितता
रोल्पा । रोल्पा नगरपालिकाले स्वीकृत दरबन्दीभन्दा बाहिर नियुक्त गरिएका शिक्षकलाई तलब भत्ता दिएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले २०८२ को प्रतिवेदन अनुसार नगरपालिकाले विद्यालय अनुदान व्यवस्थापन निर्देशिका २०७४ र शिक्षा नियमावली २०५९ विपरीत कुल रु.५९ लाख ३१ हार ७०० को अनियमित भुक्तानी गरेको उल्लेख गरिएको छ।
विद्यालय अनुदान व्यवस्थापन निर्देशिका २०७४ को बुँदा ४.१ अनुसार स्वीकृत दरबन्दीमा कार्यरत शिक्षक, राहत अनुदानमा कार्यरत शिक्षक, प्रारम्भिक वालविकास शिक्षक तथा विद्यालय कर्मचारीको तलब भत्ता शशर्त अनुदानबाट मात्रै भुक्तानी गर्न सकिने व्यवस्था छ तर प्रतिवेदनमा नगरपालिकाले दरबन्दी स्वीकृत नभएका शिक्षकलाई गाउँपालिका अनुदानबाट तलब भत्ता दिएको उल्लेख छ।
शिक्षा नियमावली २०५९ को नियम ९७ (१) अनुसार स्वीकृत दरबन्दी रिक्त भएमा मात्र बढीमा ६ महिनाको लागि अस्थायी शिक्षक नियुक्त गर्न सकिने प्रावधान छ। त्यस्तै नियम ९८(१) अनुसार रिक्त दरबन्दी नभएको विद्यालयमा कसैलाई नियुक्ति वा सरुवा गर्न नपाइने उल्लेख छ।तर रोल्पा नगरपालिकाले ती नियमको अवज्ञा गर्दै कक्षा सञ्चालित भए पनि दरबन्दी नस्वीकृत भएका विद्यालयमा शिक्षक राखी तलब भत्ता उपलब्ध गराएको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदन अनुसार पालिकाले शिक्षक दरबन्दीको मिलान नगरीकन तलब भत्ता वितरण गरेकाले बजेट सिद्धान्त विपरीत गम्भीर आर्थिक अनियमितता भएको ठहर गरिएको छ।








