४ कार्तिक २०८३, मंगलबार

पोताला दरबारमा अशोक सिलवालको ‘अप्प दीपो भवः’ पुस्तक सार्वजनिक

प्रकाशित मिति :  13 June, 2025 10:52 am


काठमाडौँ । स्वतन्त्र पत्रकार तथा डकुमेन्ट्री निर्देशक अशोक सिलवालको नयाँ कृति ‘अप्प दीपो भवः’ ल्हासास्थित संसारप्रसिद्ध पोताला दरबारमा सार्वजनिक भएको छ।

तिब्बतको कैलाश मानसरोवरको अद्भुत यात्रामा आधारित यस पुस्तकको लोकार्पण लेखक सिलवाल र एसाेसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रूपमा गरेका हुन्।

‘अप्प दीपो भवः’ अर्थात् ‘आफ्नो प्रकाश आफै बन’ भन्ने बुद्धको सूत्र वाक्य साभार गरिएको यस पुस्तकमा लेखकले कैलाश कोरा गर्दाका लौकिक र अलौकिक अनुभवलाई सजीव ढंगले प्रस्तुत गरेका छन्।

लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालले यसअघि पत्रकारिताको विश्लेषणात्मक पुस्तक ‘कलम’, साहित्यिक विमर्शमा आधारित ‘लेखक दुनियाँ’ र यात्रासंस्मरण ‘श्रीलंका स्मृति’ प्रकाशित गरिसकेका छन्।

लोकार्पण समारोहमा लेखक सिलवालले भने, “यो यात्रा प्रकृति र अध्यात्मको यात्रा हो, आफैलाई बुझ्ने यात्रा हो।” “तिब्बत त पुगेको थिएँ, तर ल्हासा र पोताला जाने सोच थिएन, म त मानसरोवर र कैलाश जान लागेको थिएँ, कैलाश कोरा गर्न लागेको थिएँ,” उनले पुस्तकमा भनेका छन् । तर, पुस्तक सार्वजनिक भने ल्हासाको पोताला दरबारमै गरिएर यस यात्राको गहिरो भावनात्मक महत्व थपिएको छ। सिलवाल पर्यटन प्रशिक्षकको भूमिका पनि निर्वाह गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !