२० मंसिर २०८२, शनिबार

बागलुङमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, १२ जना घाइते

प्रकाशित मिति :  14 June, 2025 11:45 am


बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अस्तु बतासेडाँडामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१–००१ च १७७५ नम्बरको जिप सडकबाट करिब ६० मिटर तल खसेपछि दुर्घटना भएको हो ।

दुर्घटनामा ढोरपाटन नगरपालिका–२ की ७० वर्षिय नरबहादुर कार्की र ७५ वर्षिया भीमकुमारी बुढाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए ।

त्यस्तै, गम्भीर घाइते भएकी ढोरपाटन–२ की २१ वर्षिया टीकाकुमारी कुँवरको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भयो। साथै, सोही वडाकी ७५ वर्षिया मनकुमारी थापाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिप चालक गोविन्द थापा (२७), लुम्बिनी महत (१८), इन्द्रा कुँवर (२३), निरमाया खत्री (२९), देवी परियार (३८), दुर्गी दर्जी (५३), अञ्जु परियार (१२), वियानो बुढा मगर (८), विनय बुढा (५), डल्ली विक (३५), शिशिर कार्की (११) र टनमाया कुँवर (३०) घाइते भएका छन् ।

घाइतेमध्ये केहीको पोखरास्थित मणिपाल अस्पतालमा र केहीको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। गाडीमा १६ जना सवार रहेको बताइएको छ। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !