मुलुकको हितका लागि दुई बुँदे सहमति गरिएको अध्यक्ष प्रचण्डको भनाइ
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक र जनताको वृहत्तर हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति गरिएको बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाउने र संसद् अवरुद्ध नराख्ने सहमति भएको स्पष्ट पारे ।
उहाँले मुलुकको हितका लागि संसद् चल्नुपर्ने आवश्यकता रहेकाले निजामती सेवा, शिक्षा लगायतका महत्वपूर्ण विधेयक पारित गर्न सदन चलाउने विषयमा सहमति भएको जानकारी दिए ।
अध्यक्ष प्रचण्डले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिहरू फेरि सक्रिय राजनीतिमा आउन सक्ने सन्दर्भमा स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउँदै यसका लागि पनि कानुन निर्माणको पहल गर्नुपर्ने धारणा राखे ।
उनले सहमति र सहकार्यबाट मुलुकलाई अघि बढाउनु जरुरी रहेको उल्लेख गर्दै समस्याहरूको समाधान संवादबाट खोज्नुपर्नेमा जोड दिए ।








