संस्कृति जोगाउँदै समावेशी विकासमा सरकार प्रतिबद्ध- मुख्यमन्त्री आचार्य
भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीलाई शुभकामना, सार्वजनिक बिदाको घोषणा
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले विशेष रूपमा मनाउने मौलिक पर्व ‘भूमे (भूम्या) पूजाको’ अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्दै संस्कृतिको संरक्षण र समावेशी विकासप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
मुख्यमन्त्री आचार्यद्वारा जारी शुभकामना सन्देशमा लुम्बिनी प्रदेश विविध जातीय, भाषिक, सांस्कृतिक र परम्परागत पहिचानले भरिएको उल्लेख गर्दै, यस्ता मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव अभिवृद्धि गर्नेदेखि पहिचान संरक्षणमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका हुन् ।
उनले भने, “हाम्रा मौलिक संस्कार, परम्परा, रीतिरिवाज र चाडपर्वहरू सामाजिक र सांस्कृतिक समृद्धिको बलियो आधार हुन् । भूमे पर्व आदिवासी जनजाति समुदायको सांस्कृतिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको पर्व हो, जसले भूमि, प्रकृति र पूर्वजप्रतिको सम्मान प्रकट गर्छ ।”
मुख्यमन्त्री आचार्यले भूमे पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै प्रदेश सरकारद्वारा रोल्पा, दाङ, रुकुम पूर्व र प्यूठान जिल्लामा असार १ गते आइतबारका दिन सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिए ।
समावेशी विकास र संस्कृति संरक्षण सँगसँगै
उनले प्रदेश सरकार मौलिक पर्वहरूको संरक्षणमा नीतिगत प्रतिबद्धतासहित अघि बढिरहेको उल्लेख गर्दै सबै समुदायको सहभागिता र सांस्कृतिक विविधतामाथि सम्मानकै आधारमा समावेशी विकास सम्भव हुने धारणा व्यक्त गरे । भूमे पर्वजस्ता चाडपर्वले समुदायबीच एकता, सहकार्य र प्रकृति संरक्षणप्रतिको चेतना बढाउने विश्वास मुख्यमन्त्रीले व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले भूमे पर्वलाई प्रदेशको मौलिकता झल्काउने “अमूल्य सांस्कृतिक धरोहर” का रूपमा अझ मजबुत रूपमा स्थापित होस् भन्ने कामना गर्दै पर्वको सफल आयोजनाका लागि शुभकामना प्रकट गरे ।








