२० मंसिर २०८२, शनिबार

राष्ट्र बैंकद्वारा आइतबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

प्रकाशित मिति :  15 June, 2025 11:32 am



काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले खुला बजारमार्फत ठूलो परिमाणमा निक्षेप संकलन गर्न लागेको छ । आइतबार (असार २ गते) राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने घोषणा गरेको छ।

राष्ट्र बैंकका अनुसार उक्त रकम ४२ दिनका लागि संकलन गरिनेछ, र २०७२ साउन ११ गते मूलधन तथा ब्याज भुक्तानी गरिनेछ ।

यो निक्षेप संकलन बोलकबोल प्रणालीअन्तर्गत हुनेछ । राष्ट्र बैंकले उल्लेख गरेअनुसार, नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७८ को विनियम २४ बमोजिम “क”, “ख” र “ग” वर्ग अन्तर्गतका मात्र बैंक तथा वित्तीय संस्थाहरूले यस प्रक्रियामा भाग लिन पाउने छन् ।

निक्षेप संकलनको यस पहललाई मौद्रिक नीति कार्यान्वयनको एक महत्वपूर्ण औजारको रूपमा लिइएको छ। यसबाट बजारमा रहेको अधिक तरलता नियन्त्रण गर्ने र बैंकिङ प्रणालीमा स्थायित्व ल्याउने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले यस्तो खालको संकलन कार्यलाई नियमितरूपमा सञ्चालन गर्दै आएको छ, जसले मुद्रास्फीति नियन्त्रण गर्न र मौद्रिक नीतिका लक्ष्यहरू पूरा गर्न सहयोग पुर्‍याउँछ।



प्रतिक्रिया दिनुहोस !