१ श्रावण २०८२, बिहिबार

लुम्बिनी प्रदेशको बजेट आज साँझ ५ बजे : कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता

प्रकाशित मिति :  15 June, 2025 2:57 pm


दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी पूरा गरेको छ । प्रदेश सभा सचिवालयका अनुसार आइतबार साँझ ५ बजे बस्ने तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले करिब ३९ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्नेछन् । बजेटसँगै ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ पनि सभामा पेश गरिनेछ ।

बजेट नीति तथा कार्यक्रममा आधारित रहेको जनाइएको छ, जसले समृद्धि, सुशासन र सामाजिक न्यायको सन्तुलनमा जोड दिने अपेक्षा गरिएको छ । चालु आर्थिक वर्षमा ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याइएकोमा आगामी वर्षको बजेट लगभग सोही हाराहारीमा रहनेछ । स्रोत परिचालनको चुनौती, खर्चको प्रभावकारिता र प्राथमिकताका पुनःनिर्धारणका आधारमा बजेट सन्तुलनमा ल्याइएको बताइएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशबासीको विकासप्रतिको तीव्र चाहनालाई बजेटले सम्बोधन गर्ने उल्लेख गर्दै कृषि, पर्यटन र उद्योगलाई समृद्धिको आधारका रूपमा अघि सारिएको बताए । मन्त्री कार्कीको नेतृत्वमा प्रस्तुत हुन लागेको बजेटले सामाजिक र आर्थिक रूपान्तरणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

बजेटमा कृषि, रोजगारी र पूर्वाधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ । कृषिमा यान्त्रीकरण, बीउ तथा मल आपूर्ति, सिँचाइ विस्तार, कृषि बजार सुधार, अनुसन्धान तथा प्रविधि हस्तान्तरण, सहुलियत ऋण र बीमा प्रणालीजस्ता कार्यक्रम समेटिने छन् । रोजगारीको पक्षमा युवालाई सीपमूलक तालिम, स्वरोजगार र साना तथा घरेलु उद्योगको प्रवर्द्धन गरिने योजना छ । पूर्वाधार क्षेत्रमा सडक, पुल, सिँचाइ, खानेपानी, ऊर्जा, आवास तथा डिजिटल पूर्वाधारमा पर्याप्त लगानी गरिनेछ । ग्रामीण सडक स्तरोन्नति, प्रदेश राजमार्ग विस्तार, नदी नियन्त्रण र स्थानीय पूर्वाधार निर्माणमा बजेट केन्द्रित हुनेछ ।

पर्यटन प्रवर्द्धनमा बौद्ध दर्शन मार्ग विकास, लुम्बिनी क्षेत्रको पूर्वाधार सुधार, आन्तरिक तथा बाह्य पर्यटक आकर्षणका कार्यक्रमहरू समावेश गरिनेछन्। लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक गन्तव्यको रूपमा विकास गर्ने रणनीति बजेटमार्फत अघि सारिने जनाइएको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ। गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि विद्यालय सुधार योजना, तालिम केन्द्र, प्राविधिक तथा व्यावसायिक शिक्षामा बजेट विनियोजन गरिनेछ। स्वास्थ्य क्षेत्रमा अस्पताल स्तरोन्नति, विशेष उपचार सेवा, सुरक्षित मातृत्व कार्यक्रम, दुर्गम क्षेत्रमा औषधि र जनशक्ति व्यवस्था सुनिश्चित गरिनेछ।

सामाजिक सुरक्षाका कार्यक्रममार्फत अपांगता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला र अन्य विपन्न वर्गका लागि लक्षित कार्यक्रमहरू सञ्चालन गरिने छन्। बजेटले समावेशी, जनउत्तरदायी र परिणाममुखी नीति तथा कार्यक्रममार्फत लुम्बिनी प्रदेशको समृद्धि यात्रालाई गति दिने विश्वास गरिएको छ।

आज साँझ ५ बजे सार्वजनिक हुने बजेटले विकास, सुशासन र समावेशीताको सन्तुलन कायम गर्दै दीगो आर्थिक रूपान्तरणको दिशामा प्रदेशलाई अघि बढाउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !