कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट : कृषि, पूर्वाधार र सामाजिक क्षेत्र प्राथमिकतामा
काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै उत्पादनमुखी, रोजगारीमुखी र सामाजिक न्याय सुनिश्चित गर्ने लक्ष्यसहित बजेट ल्याइएको जानकारी दिए ।
मन्त्रालयका अनुसार यो बजेट चालू आर्थिक वर्षको बजेटभन्दा १.१७ प्रतिशतले बढी हो । चालू वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।
प्रस्तावित बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । कुल बजेटमध्ये १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ चालुतर्फ अर्थात् ५२ प्रतिशत, १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुँजीगततर्फ अर्थात् ४७.७ प्रतिशत र १० करोड रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ अर्थात् ०.३ प्रतिशत छुट्याइएको छ ।
विभागीय रुपमा हेर्दा, पूर्वाधार विकासमा सबैभन्दा ठूलो रकम अर्थात् १० अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि तथा उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिक विकासतर्फ २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यतर्फ ३ अर्ब ५१ करोड ७१ लाख र शान्ति सुरक्षाका लागि ९६ करोड रुपैयाँ छुट्याइएको छ ।
बजेट प्रस्तुत गर्दै मन्त्री मगरले कोशी प्रदेशको समावेशी र समतामूलक विकास सुनिश्चित गर्न आफूहरूको प्रयास जारी रहेको बताउँदै योजनाहरू कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरे । प्रदेश सरकारले आगामी वर्ष रोजगारी सिर्जना, उद्यम प्रवर्द्धन, सेवा प्रवाहमा सुधार र ग्रामीण क्षेत्रको विकासमा केन्द्रित हुने नीति अवलम्बन गरेको बताइएको छ।








