लुम्बिनी प्रदेशको ३८ अर्ब ९१ करोडको बजेट : समृद्ध लुम्बिनीमा जाेड (पूर्ण पाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त बजेट प्रस्तुत गरे ।
प्रस्तुत बजेटमा १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ अर्थात् ३० दशमलव ८८ प्रतिशत रकम चालु खर्चका लागि विनियोजन गरिएको छ ।
यस्तै, पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ अर्थात् ६० दशमलव ३२ प्रतिशत बजेट छुट्याइएको छ। वित्तीय हस्तान्तरणतर्फ भने ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव ८० प्रतिशत विनियोजन गरिएको छ।
बजेट प्रस्तुत गर्दै मन्त्री कार्कीले समृद्ध लुम्बिनी र खुसी नागरिकको दीर्घकालीन आकांक्षा पूरा गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। बजेटमा कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार, उद्यमशीलताको प्रवर्द्धन, दिगो पूर्वाधारको विकास, सामाजिक न्यायसहितको समावेशी विकास र उत्पादनशील रोजगारी सृजनालाई प्राथमिकतामा राखिएको छ।
सरकारले आर्थिक असमानता घटाउने र गरिबी न्यूनीकरण गर्ने उद्देश्यले बजेट तथा कार्यक्रमलाई केन्द्रित गरेको जनाएको छ। उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ ल्याइएको यो बजेटले प्रदेशको आर्थिक रूपान्तरणका लागि बहुआयामिक रणनीति अपनाएको स्पष्ट देखिन्छ।
मुलुकको कुल गार्हस्थ उत्पादनमा लुम्बिनीको योगदान उल्लेख्य छ भने प्रदेश सरकारको योजना उक्त योगदानलाई अझ सशक्त तुल्याउने दिशामा अघि बढेको देखिन्छ। बजेटले समावेशी, उत्पादनमुखी र जनमुखी दृष्टिकोण अवलम्बन गर्दै समृद्ध लुम्बिनीको बाटो खोल्ने अपेक्षा गरिएको छ।