२० मंसिर २०८२, शनिबार

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले बजेटसम्बन्धी विधेयक पेश गर्ने

प्रकाशित मिति :  16 June, 2025 7:52 am


काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकको कार्यसूचीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा बजेटसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयक प्रस्तुत गर्ने तयारी गरिएको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ संसद्‍मा टेबुल गर्नुहुनेछ। यी विधेयकहरू आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका छन्।

त्यसैगरी, अर्थमन्त्री पौडेलले हालै प्रस्तुत गरिएको आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने कार्यक्रम पनि आजकै बैठकमा रहेको सचिवालयले जनाएको छ।

यस अतिरिक्त, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित प्रतिनिधिसभामा टेबुल गरिने कार्यक्रम पनि रहेको छ।

आजको बैठकले बजेट प्रक्रिया र संवैधानिक परिषद् सम्बन्धी कानुनी व्यवस्थामा छलफल तथा कार्यान्वयनको आधार तय गर्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !