पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज साँझ अण्डा बोकेको लु १ च ६७५६ नम्बरको बोलेरो जिप आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गर्दा वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो। गाडी सडकबाट करीब ३०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी सवारीधनी ४६ वर्षिय विनोद ढुङ्गाना र अर्का अन्दाजी ४५ वर्षिय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। ढुङ्गाना बगनासकाली गाउँपालिका–१, गाप्टुङ घर भइ हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आएका थिए । उनको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो । अर्का मृतकको परिचय खुल्न नसकेको र उनको मिसन अस्पताल, पाल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा गाडी चालक राजु खड्का गम्भीर घाइते भएका छन्। खड्का बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय हुन्। उनको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले जानकारी दिए।