२४ मंसिर २०८२, बुधबार

आज प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित हुने तयारी

प्रकाशित मिति :  17 June, 2025 7:56 am


फाइल फाेटाे।

काठमाडौँ । आज दिउँसो १ः०० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकमा बहुप्रतीक्षित सङ्घीय निजामती सेवा विधेयक, २०८२ पारित गर्ने कार्यसूची तय भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम तय भएको छ। सो प्रस्तावमाथि छलफल गरी आजै विधेयक पारित गरिने प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ।

निजामती सेवा सम्बन्धी विधेयक लामो समयदेखि संसद्मा अल्झिरहेको अवस्थामा आज अन्ततः विधायन प्रक्रियाको निष्कर्षतर्फ उन्मुख भएको हो। संघीय संरचनाअनुसार निजामती सेवाको पुनःव्यवस्थापन गर्ने महत्वपूर्ण विधेयकका रूपमा यसलाई हेरिएको छ।

यसैबीच, आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस हुने कार्यसूची पनि तय भएको छ। सो प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद्‌मा प्रस्तुत गर्नेछन्।

दुवै विधेयक संघीय शासन व्यवस्थालाई संस्थागत गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ। निजामती सेवाको ढाँचा स्पष्ट पार्न र नागरिकता सम्बन्धी विवादहरू समाधान गर्न यी विधेयकहरू निर्णायक हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !