२४ मंसिर २०८२, बुधबार

संसद बैठक पुनः स्थगित : भिजिट भिसा प्रकरणमा दलहरूबीच सहमति नजुट्दा गतिरोध

प्रकाशित मिति :  17 June, 2025 7:17 pm


काठमाडौँ । प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। ‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन्।

आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँसेर पटक–पटक समय परिवर्तन गरिए पनि अन्ततः बस्न सकेन। संसद सचिवालयले बैठक स्थगनको औपचारिक सूचना जारी गर्दै नयाँ समय बिहीबार बिहान ११ बजे तोकेको जनाएको छ।

यसबीच, संसद सञ्चालनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच दुई बुँदे सहमति भए पनि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध जारी राखेका छन्। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको गम्भीर छानबिनको माग गर्दै सदन चल्न नदिने अडान लिएका छन्।

रास्वपाका सांसदहरू निरन्तर नाराबाजी र वेल घेरेर बैठक अवरुद्ध गरिरहेका छन्। उनीहरूको माग छ— विदेश जाने नेपाली नागरिकहरूमाथि हुने शोषण र सरकारका नीतिगत कमजोरीबारे संसदीय छानबिन होस्।

सरकारपक्षीय दलहरू भने छलफलमार्फत समाधान खोज्ने पक्षमा देखिएका छन्। तर, प्रतिपक्षीको कडा अडानका कारण सदनको नियमित कार्यसूची प्रभावित हुन थालेको छ।

संसद अवरुद्ध भइरहँदा विनियोजन विधेयक, नीति तथा कार्यक्रम लगायत महत्त्वपूर्ण विधेयकहरूमा छलफल प्रभावित भएको छ।



प्रतिक्रिया दिनुहोस !