२४ मंसिर २०८२, बुधबार

सुशासन आयोगको पहिलो बैठक सम्पन्न

भ्रष्टाचार न्यूनीकरण, सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न आयोगको भूमिकालाई प्रभावकारी बनाउने दिशामा अग्रसर हुन प्रधानमन्त्रीकाे निर्देशन
प्रकाशित मिति :  18 June, 2025 4:32 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न भएको छ । बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्रको निर्धारण र आगामी कार्ययोजनाबारे प्रारम्भिक तथा परिचयात्मक छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्यूनीकरण, सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न आयोगको भूमिकालाई प्रभावकारी बनाउने दिशामा अग्रसर हुन निर्देशन दिनुभएको स्रोतले जनाएको छ ।

आयोगको सदस्य चयन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै बैठकमा आगामी साता दोस्रो पूर्ण बैठक आयोजना गर्ने निर्णय पनि गरिएको छ। त्यसअघि राजनीतिक दल, विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिहरूको मनोनयन प्रक्रिया सम्पन्न गरिनेछ।

यसअघि गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको थियो ।

आयोगमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया, र सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री राजकुमार गुप्ता आयोगका सदस्यको हैसियतमा सहभागी थिए ।

सरकारले सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै नीति निर्माण, कार्यान्वयन, अनुगमन र मूल्यांकन प्रक्रियामा आयोगमार्फत एकीकृत ढंगले अघि बढाउने लक्ष्य लिएको छ । आयोगको आगामी बैठकले विस्तृत कार्ययोजना पारित गर्ने तयारी गरिरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !