१९ मंसिर २०८२, शुक्रबार

स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छ : मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  19 June, 2025 5:58 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै स्काउट अभियानले बालबालिका तथा युवाहरूमा स्वयंसेवी भावना र सर्वांगीण विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री आचार्यले स्काउट अभियानले बालबालिका र युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा उल्लेखनीय भूमिका खेलेको बताए । सन् १९०७ मा विश्वव्यापी रूपमा सुरु भएको स्काउट अभियान नेपालमा वि.सं. २००९ (सन् १९५२) बाट प्रारम्भ भएको स्मरण गर्दै उहाँले अभियानले सात दशक पार गरिसकेकोमा खुशी व्यक्त गरे ।

उनले बाल्यकालदेखि नै चरित्र निर्माण, नैतिकता, आत्मनिर्भरता, विपद् व्यवस्थापन, साहसिक गतिविधि, सामुदायिक सेवा तथा स्वयंसेवी भावना विकास गर्न स्काउटले खेलेको भूमिकालाई प्रशंसायोग्य बताए । विशेष गरी कोभिड–१९ महामारीको कठिन समयमा स्काउट स्वयंसेवकहरूले अग्रपंक्तिमा रही देखाएको समर्पणको उहाँले उच्च मूल्याङ्कन गरे ।

मुख्यमन्त्री आचार्यले स्काउटलाई एक अनौपचारिक शिक्षामूलक संस्था भएको उल्लेख गर्दै यसले बालबालिका र युवाहरूको जीवन सीप र सामाजिक चेतना अभिवृद्धिमा सकारात्मक भूमिका खेलेको बताए । उनले प्रदेश, स्थानीय तह र विद्यालयसम्म स्काउट कार्यक्रम विस्तार हुनु र अन्तर्राष्ट्रिय स्तरमा सहभागिता बढ्नु स्काउट अभियानका उपलब्धिहरू भएको उल्लेख गरे ।

वि.सं. २०७७ कात्तिक ६ गतेदेखि लुम्बिनी प्रदेशमा स्काउटको संस्थागत संरचना गठन भई जिम्मेवारी निर्वाह भइरहेको बताउँदै उनले हालसम्म प्रदेशका १०९ वटै स्थानीय तहमा स्काउटको सञ्जाल विस्तार भइसकेको जानकारी दिए ।

स्काउट अभियानको उद्देश्य, सिद्धान्त र कार्यक्रमहरूमा लुम्बिनी प्रदेश सरकारको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री आचार्यले स्काउट शिक्षामार्फत प्रत्येक बालबालिका तथा युवालाई सक्षम, आत्मनिर्भर र राष्ट्रप्रेमी बनाउँदै विपद् व्यवस्थापन तथा सामाजिक चेतनाका क्षेत्रमा “फस्र्ट रिस्पोन्डर” को रूपमा सक्रिय गराउन सबै सरोकारवालाको ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस !