२४ मंसिर २०८२, बुधबार

जोखिमपूर्ण बन्दै बुटवल–नारायणघाट सडक : वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीकाे आग्रह

प्रकाशित मिति :  19 June, 2025 7:50 am


बुटवल । लगातारको वर्षासँगै बाढी, पहिरो र चिप्लो सडकका कारण बुटवल–नारायणघाट सडकखण्ड दिन प्रतिदिन जोखिमपूर्ण बन्दै गएको छ। नवलपुर प्रहरीले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

नवलपुर जिल्लाको दुम्किवासस्थित विनयी खोलामा बनेको डाइभर्सन लगातारको बाढीले सातौं पटक बगाउँदा आवागमन पूर्ण रुपमा प्रभावित भएको छ। मंगलबारदेखि डाइभर्सन बगाएपछि दैनिकजसो सडक अबरुद्ध हुने स्थिति पैदा भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।

त्यस्तै, दुम्किवास–दाउन्ने सडक खण्डका विभिन्न स्थानहरू, विशेषगरी विश्वकर्मा मन्दिर र घ्युखेलाल नजिकको क्षेत्रमा सडक अत्यधिक चिप्लो भएपछि ठूला तथा साना सवारी साधनहरू फस्ने क्रम बढेको छ ।

बुधबार दिउँसोदेखि चिप्लो सडकमा गाडीहरू फस्दा लामो जामको स्थिति देखिएको छ । ढकालका अनुसार हाल सडकको अवस्था यस्तो छ कि साना गाडीहरू समेत अगाडि बढ्न मुस्किल भइरहेको छ ।

यसैबीच, जिल्ला प्रहरीले बिहीबार बिहान सार्वजनिक सूचना जारी गर्दै नागरिक र यात्रुहरूलाई सकेसम्म यो सडक प्रयोग नगर्न तथा वैकल्पिक मार्गबाट यात्रा गर्न विशेष अनुरोध गरेको छ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जान चाहने ठूला सवारी साधनहरूका लागि नारायणघाट–मुग्लिन–पोखरा–स्याङ्जा हुँदै बुटवल जाने मार्ग प्रयोग गर्न सकिनेछ । यस्तै, पश्चिमबाट पूर्वतर्फ गन्तव्य रहेका सवारी साधनहरू बुटवल–स्याङ्जा–पोखरा–मुग्लिन हुँदै नारायणघाट पुग्न सक्नेछन्।

साना सवारीका लागि पनि विशेष सतर्कता अपनाउनुपर्ने बताइएको छ । प्रहरीका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–पिपलडाँडा सडक खण्ड साना गाडीहरूका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिए तापनि यो खण्डमा पनि लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम कायमै रहेको छ ।

प्रहरीले सबै चालक, यात्री र सर्वसाधारणलाई सम्भव भएसम्म यात्रा टार्न, आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीको निर्देशनको पालना गर्न अनुरोध गरेको छ ।

नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक खुलाउने प्रयास जारी रहे पनि लगातारको पानी, चिप्लो माटो र भौगोलिक जोखिमका कारण काममा कठिनाइ भइरहेको छ ।

सडक पूर्व–पश्चिम यातायात सञ्जालको एक महत्त्वपूर्ण खण्ड हो तर यति ठूलो संख्यामा पटकपटक डाइभर्सन बग्नु, गाडी फस्ने अवस्था आउनु, तथा पहिरोको जोखिम हुनु यस सडकको दिगो व्यवस्थापनमा गम्भीर प्रश्न खडा गरेको छ । सडक निर्माण तथा मर्मतको दीर्घकालीन रणनीति नअपनाए भविष्यमा यस खण्डले देशको यातायात प्रणालीमा अझ ठूलो अवरोध खडा गर्न सक्छ ।

यस अवस्था सार्वजनिक सुरक्षाको दृष्टिकोणले गम्भीर चुनौतीका रूपमा देखिएको छ। नियमित रूपमा वर्षा र बाढी हुने क्षेत्रको सडकलाई सुरक्षित, टिकाउ र वैज्ञानिक ढंगले निर्माण नगर्ने हो भने यस्ता समस्याहरू बारम्बार दोहोरिने निश्चित छ। तत्काललाई यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै वैकल्पिक मार्गको प्रयोग र उच्च सतर्कता नै उत्तम विकल्प देखिन्छ।



प्रतिक्रिया दिनुहोस !