प्रमुख तीन दलका नेताहरुको बैठक बस्दै : समसामयिक राजनीतिक विषयमा छलफल हुने
काठमाडौँ । देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न सत्तारुढ नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरु आज दिउँसो सिंहदरबारमा भेटवार्ता गर्दैछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज दिउँसो २ः०० बजेका लागि बैठक तय गरिएको छ । बैठकमा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने जनाइएको छ ।
प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालका अनुसार बुधबारका लागि तय गरिएको बैठक माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौँ बाहिर रहेका कारण आजका लागि सारिएको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद् सञ्चालन, बजेट पारित गर्ने प्रक्रिया, राजनीतिक दलबीचको समन्वय, तथा पछिल्ला घटनाक्रमबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ ।
स्रोतका अनुसार प्रमुख दलबीचको सहकार्य, समन्वय र विश्वास अभिवृद्धिका लागि यो बैठक महत्वपूर्ण हुने अनुमान गरिएको छ । साथै आगामी दिनमा सरकार सञ्चालनका विषय, संघीयता कार्यान्वयन, संवैधानिक आयोगहरूको नियुक्ति तथा सुशासनको सवालमा पनि बैठकमा कुराकानी हुन सक्नेछ । सिंहदरबारमा बस्ने बैठकले हालको राजनीतिक गतिरोध हल गर्न के-कस्तो दिशा निर्धारण गर्छ भन्नेमा सर्वत्र चासो देखिएको छ।








