नेपालले हरित अर्थतन्त्रको प्रवद्र्धनमार्फत आर्थिक वृद्धिको चुनौती सामना गर्न सक्छ-अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हरित अर्थतन्त्रको प्रवद्र्धनलाई नेपालले आर्थिक वृद्धिमा रहेका चुनौतीहरूको सामना गर्ने प्रमुख उपायको रूपमा औंल्याएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले दिगो आर्थिक वृद्धि र रोजगारी सृजनादेखि लिएर सामाजिक समावेशीकरण र लगानी प्रवद्र्धनसम्मका क्षेत्रमा एकीकृत प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।
उनले नेपालको वर्तमान आर्थिक चुनौतीहरू पार गर्न सरकार, निजी क्षेत्र, सहकारी, गैरसरकारी संघ–संस्था तथा विकास साझेदारहरूबीच सहकार्यलाई थप घनिष्ठ बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
विपद् र जलवायु परिवर्तनको असरले अर्थतन्त्र र नागरिकको जीवनमा गम्भीर प्रभाव पारिरहेकाले त्यसको दीर्घकालीन समाधानका उपायहरूमा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
“रोजगारी सिर्जना, गुणस्तरीय मानव पुँजी विकास, हरित अर्थतन्त्रको प्रवद्र्धन, सामाजिक समावेशीकरण तथा व्यापार र लगानी प्रवद्र्धनमार्फत मात्र हामी आर्थिक वृद्धिको मार्गमा अघि बढ्न सक्छौं,” मन्त्री पौडेलले भने, “यसका लागि सबै पक्षबीच सहकार्य अपरिहार्य छ ।”
उनले नेपालको निर्यात क्षमतामा उल्लेखनीय सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै अन्तर्राष्ट्रिय व्यापारलाई दिगो बनाउने प्रयासहरूलाई सुदृढ गर्नुपर्ने बताए ।
त्यसका लागि उत्पादनशीलता वृद्धि, निर्यात वस्तुको विविधिकरण, भौतिक पूर्वाधारको संरक्षण तथा प्रवद्र्धन, दुईपक्षीय तथा बहुपक्षीय व्यापार सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए ।
अर्थमन्त्री पौडेलले नेपालले कार्यान्वयनमा लैजाँदै गरेको दिगो विकास लक्ष्यहरू (SDGs) हासिल गर्न पनि हरित अर्थतन्त्र र जलवायु सहनशीलता विकास अपरिहार्य रहेको बताए ।
त्यस्तो विकासका लागि आवश्यक हुने उच्च लागत र प्रविधिक दक्षता जुटाउन विकास साझेदार र अन्तर्राष्ट्रिय समुदायको निरन्तर सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा उनले जलवायु सम्बन्धी विश्वव्यापी कोषहरूमा नेपालको पहुँच वृद्धि गर्दै आवश्यक वित्तीय तथा प्राविधिक स्रोत जुटाउने रणनीतिमा सरकार केन्द्रित भइरहेको जानकारी पनि गराए ।
“उत्थानशीलता विकास बिना हाम्रो दिगो भविष्य सुनिश्चित हुँदैन,” पौडेलले भने, “त्यसैले हामीले जलवायु अनुकूलन र हरित लगानीमा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नु पर्छ ।”
उनको भनाइ अनुसार, समावेशी आर्थिक संरचना, हरित प्रविधिको प्रयोग, स्वदेशी उत्पादनको सुदृढीकरण र युवालाई लक्षित रोजगारी सिर्जना कार्यक्रमहरू मार्फत नेपालले आर्थिक स्थायित्व र दिगो समृद्धिको मार्गमा अघि बढ्न सक्ने सम्भावना उच्च छ।
कार्यक्रममा विभिन्न मन्त्रालय, निजी क्षेत्र, विकास साझेदार संस्था र सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पनि नेपालको आर्थिक रुपान्तरणका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेकोमा सहमति व्यक्त गरेका थिए।








