अर्थमन्त्री पौडेलको अभिव्यक्ति-“देखिएको सपना पूरा गर्ने बजेट आएको छ”

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले देशको अर्थतन्त्रलाई सुदृढ बनाउने दिशामा एक कदम अगाडि बढाउने दाबी गरेका छन् ।
आज बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले प्रस्तुत बजेटले ‘नयाँ सपना देखाउने’ भन्दा पनि ‘पहिले देखिएको सपना पूरा गर्ने’ लक्ष्य लिएको स्पष्ट पारे ।
राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यो बजेट कार्यान्वयनमा नयाँ उदाहरण बन्ने विश्वास व्यक्त गरे । उनले भने, “बजेट आकार, अनुमान र प्रस्तावका दृष्टिले मात्र होइन, कार्यान्वयनका दृष्टिकोणले पनि उपयुक्त थियो भन्ने अभिलेख होस् भन्ने सोच र सङ्कल्पसहित यो बजेट ल्याइएको हो ।”
अर्थमन्त्री पौडेलले प्रस्तुत बजेटले आर्थिक वृद्धिलाई गति दिने तथा अर्थतन्त्रलाई पुनः चलायमान बनाउने अपेक्षा गरिएको बताए । उनले आगामी वर्षको अन्त्यसम्म मुद्रास्फीति ५.५ प्रतिशत भित्र राख्ने र आर्थिक वृद्धिलाई ६ प्रतिशतमा पुर्याउने लक्ष्यसहित बजेट कार्यान्वयन हुने जानकारी दिए ।
“बजेटमार्फत मुलुकको अर्थतन्त्र चलायमान हुनेछ,” उनले भने, “बजेट कार्यान्वयनपछि हामी सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणको दिशामा एक कदम अगाडि बढेको हुनेछौँ । सोही अठोट र सङ्कल्पका साथ प्रस्तुत बजेट आएको हो ।”
अर्थमन्त्री पौडेलले आगामी आवको बजेटमा विगतका योजनालाई निरन्तरता दिँदै कार्यान्वयनमा जोड दिएको उल्लेख गरे । उनले विगतमा घोषणा भएका आयोजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सरकारको प्राथमिकता रहेको स्पष्ट पारे । “नयाँ योजना ल्याउनेभन्दा पनि विगतका कामलाई पूरा गर्दै विश्वास जित्ने बाटोमा सरकार अघि बढेको छ,” उनको भनाइ थियो ।
सरकारले नीति, कार्यक्रम र बजेटमार्फत देशको अर्थतन्त्रलाई दीर्घकालीन रूपमै सबल बनाउने प्रयास थालेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने रणनीतिका साथ बजेट निर्माण गरिएको बताए ।