दुम्किबासमा विनयी खोलाले बस बगायो, पूर्व-पश्चिम राजमार्ग अबरूद्ध
बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा आएको अचानकको बाढीले यात्रुवाहक बस बगाएको छ ।
काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति खोलामा आएको तीव्र बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए ।
प्रहरी निरीक्षक तिमिल्सेनाका अनुसार बस विनयी खोलाको नयाँ डाइभर्सन हुँदै पार गरिरहेका बेला एक्कासि बाढी आएको थियो । “नयाँ डाइभर्सनबाट बस आउँदै गर्दा एक्कासी बाढीले बस बगायो,” उनले बताए, “तर हामी तत्काल एक्साभेटरको सहयोगमा सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ ।”
बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । उद्धार गरिएका सबै यात्रु सकुशल रहेको र कुनै मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ । यद्यपि यात्रुहरूका सामानहरू बगाएको हुनसक्ने आशंका गरिए पनि हालसम्म त्यसको यकिन विवरण प्राप्त भएको छैन ।
लगातार परेको वर्षाका कारण बाढी अझै घटेको छैन, जसका कारण खोलाबाट बस निकाल्न नसकिएको प्रहरीले जनाएको छ । रातभरको वर्षाले सडक थप हिलाम्य बनेको र विशेषगरी दाउन्ने क्षेत्रमा सवारीसाधन चल्न नसकेको जनाइएको छ । उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको प्रहरी निरीक्षक तिमिल्सेनाले बताए ।
स्थानीय प्रशासन र ट्राफिक प्रहरी टोलीले यात्रु सुरक्षालाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन र जोखिमपूर्ण स्थानमा यात्रा नगर्न आग्रह गरेका छन् ।








