१ श्रावण २०८२, बिहिबार
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहुप्रतिक्षित ओभरपास उद्घाटन गर्दै

ग्वार्को फ्लाई ओभर : उपत्यकाको ट्राफिक व्यवस्थापनतर्फ ऐतिहासिक उपलब्धि

प्रकाशित मिति :  20 June, 2025 8:02 am


काठमाडौँ । ललितपुरको अत्यन्त व्यस्त चोक ग्वार्कोमा निर्माण सम्पन्न भएको ‘फ्लाई ओभर’ अन्ततः विधिवत रूपमा सञ्चालनमा आएको छ । लामो प्रतीक्षापछि आज प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा यो बहुप्रतिक्षित ओभरपास उद्घाटन हुँदैछ, जससँगै काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनतर्फ एक ऐतिहासिक पाइला अगाडि बढेको छ।

निर्माणमा ढिलाइ तर पूर्णतासहितको सम्पन्नता
ग्वार्को ओभरपासको निर्माण प्रारम्भ २०७८ साल फागुन १२ गतेबाट सुरु भएको थियो, जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको थियो । काम दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए तापनि प्राविधिक जटिलता, डिजाइन परिमार्जन र माटो सुधारका कारण काममा पटक–पटक म्याद थपियो ।

आखिर २०८१ साल पुस ८ गते निर्माण कार्य सम्पन्न गरिएको हो। निर्माणमा देखिएका ढिलाइका कारण ठेकेदार कम्पनीलाई रु एक करोड ४७ लाख हर्जाना समेत तिराइएको छ। केन्द्रका प्रवक्ता प्रदीप भण्डारीका अनुसार, प्रारम्भिक डिजाइनको असमानताका कारण फेरि डिजाइन स्वीकृति प्रक्रिया अपनाउनु परेको र निर्माणको बेला जमिनको माटो अस्थिर भएर थप काम गर्नुपर्ने अवस्था सिर्जना भएको थियो।

ओभरपासको भौतिक स्वरूप
ग्वार्को ओभरपासको कुल लम्बाइ ५७६.२ मिटर रहेको छ । ग्वार्को चोकबाट लगनखेलतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो र्याम्प निर्माण गरिएको छ भने बीचको पुल खण्ड ३६.२ मिटरको छ । पुलको चौडाइ १६.४ मिटर रहेको छ, जसमा चार लेन सवारी मार्ग सञ्चालन हुने गरी डिजाइन गरिएको छ ।

यो पुल यान्त्रिक स्थायित्वका लागि आवश्यक ‘माटो सुधार प्रविधि’ अपनाएर निर्माण गरिएको छ, जसले भविष्यमा हुने जमिन धसावट र संरचनागत समस्या न्यून गर्ने अपेक्षा गरिएको छ।

लागतमा चर्को वृद्धि
शुरूमा करिब रु १७ करोडको लागत अनुमान गरिएको भए तापनि काम सम्पन्न हुँदा सम्ममा यो खर्च रु ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ। करिब १४ करोड रुपैयाँ लागत थपिएको भण्डारीले बताएका छन्। निर्माणको जिम्मेवारी ‘डिजाइन एण्ड बिल्ड’ मोडल अन्तर्गत निजी निर्माण व्यवसायीले लिएको थियो। पाँच वर्षसम्म निर्माण र १० वर्षसम्म डिजाइनमा कुनै समस्या आएमा व्यवसायीले मर्मत गर्नुपर्ने शर्त पनि सम्झौतामा उल्लेख गरिएको छ।

ट्राफिक व्यवस्थापनमा सहजता
ग्वार्को चोक विगत लामो समयदेखि सवारी चापको प्रमुख केन्द्र रहँदै आएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार, यो फ्लाई ओभरबाट ग्वार्को चोकमा ट्राफिक जामको समस्या घट्नेछ। तर उनले सतर्कता जनाउँदै भने, “अब सातदोबाटो चोकमा चाप बढ्न सक्छ, त्यसैले दीर्घकालीन रूपमा लामो फ्लाई ओभर वा अन्डरपास निर्माण आवश्यक छ।”

गिरीले उपत्यकाका अन्य चोक-कोटेश्वर, बानेश्वर, थापाथली, माइतीघर, चाबहिल र सातदोबाटोमा पनि यस्ता पूर्वाधार आवश्यक रहेको सुझाव दिए ।

पूर्वाधार विकासको दिशामा उदाहरणीय परियोजना
नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष तथा पूर्वाधार विज्ञ इञ्जिनियर गजेन्द्रप्रसाद थपलियाका अनुसार, ग्वार्को फ्लाई ओभर मुलुकको पूर्वाधार विकासमा सकारात्मक उदाहरण बनेको छ। “यस्ता ओभरपास र अन्डरपासको योजनाले मात्र होइन, प्रभावकारी कार्यान्वयनले नै ट्राफिक जामको दीर्घकालीन समाधान दिन सक्छ,” थपलियाले भने।

उनले काठमाडौँको प्रमुख चोकहरूमा यस्ता पूर्वाधार योजनाहरू तत्काल तर्जुमा गरिनु पर्ने आवश्यकता औंल्याए । हालै प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले उद्घाटनको पूर्वसन्ध्यामा ग्वार्को ओभरपासको निरीक्षण गरेको थियो । निरीक्षण टोलीका सदस्य माधव सापकोटा भन्छन्, “प्रायः सबै कार्य सम्पन्न भएको भए पनि केही साना तर महत्त्वपूर्ण पक्ष बाँकी छन्-जसमा रातको सुरक्षाका लागि बत्ती तथा सीसी क्यामेरा जडान जस्ता विषय प्राथमिकतामा पर्नुपर्छ ।”

भविष्यका योजनाहरू
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको सक्रिय पहलमा ग्वार्को फ्लाई ओभर अन्ततः सम्पन्न भएको हो। मन्त्री दाहालले पटक–पटक स्थलगत निरीक्षण गरेर कामलाई गति दिएका थिए ।

आगामी वर्षका लागि मन्त्रालयले टोखा–छहरे सुरूङमार्ग, हेम्जा–नयाँपुल, नयाँ बानेश्वर अन्डरपास, सिद्धबाबा सुरूङमार्ग, खुर्कोट–चियाबारी, फुस्रेखोला–स्याङ्जा, शिवपुरी–भालुवाङ र रानीघाट–भुरीगाउँ टनेलजस्ता परियोजना अघि बढाउने योजना सार्वजनिक गरिसकेको छ।

ग्वार्को फ्लाई ओभरको निर्माण ढिलाइबीच सम्पन्न भए पनि यो राजधानीको ट्राफिक समस्या समाधानतर्फको ठुलो कदम हो। अब यो फ्लाई ओभर न केवल सवारी चाप घटाउने एउटा पूर्वाधार बन्नेछ, तर राज्यले विकासका कामलाई कसरी अझ जिम्मेवार र पारदर्शी ढंगले सम्पन्न गर्न सक्छ भन्ने उदाहरण पनि हुनेछ।



प्रतिक्रिया दिनुहोस !