रकम वितरणमा घोराही उपमहानगरको मानोमानी,नाफामूलक संस्थालाई बाँडियो झण्डै रू. ५० लाख
काठमाडौँ । दाङको घोराही उपमहानगरपालिकाले रकम वितरणमा मनपर्दी गर्दै नाफामूलक संस्थाहरूलाई झण्डै ५० लाख रुपैयाँ वितरण गरेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ ।
वितरणमूखी खर्चलाई नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालीन पुँजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्ने भन्दै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन २०८०/८१ ले भनेको छ,“जसबाट नाफा कमाउने उद्देश्यले स्थापित संस्थाको लागि लगानी गर्न तथा ती संस्थाहरू मार्फत काम गराउन एवं संस्थाहरूलाई अनुदान उपलब्ध गराउन मिल्ने देखिँदैन । ”
पालिकाले नाफामूलक देखिएका संस्थाहरूलाई ४८ लाख ८२ हजार ९ सय ७० रुपैयाँ बाँडेको छ ।

कानुनी र प्रेस सल्लाहकार समेत गैरकानुनी
उपमहानगरपकालिकाका कानुनी तथा प्रेस सल्लाहकार समेत गैरकानुनी देखिएको महालेखाले औल्याएको छ ।
उपमहानगरपालिकामा नियमविपरीत प्रेस सल्लाहकार र कानुनी सल्लाहकारलाई मासिक ४३ हजार ६ सय ८९ रुपैयाँका साथै चाडपर्व खर्च र पोशाक खर्च समेत दिइएको प्रतिवेदनमा उल्लेख छ ।
प्रेस सल्लाहकार र कानुनी सल्लाहकारले लिएको पारिश्रमिकत लगायतको वार्षिक ११ लाख ३५ हजार ९ सय १४ रुपैयाँलाई अनियमिता ठहर गरेको छ ।








