२३ असार २०८३, मंगलबार
ग्वार्को फ्लाइओभर उद्घाटन

नेपाल दुर्गमबाट सुगम देशमा रूपान्तरण हुँदैछ-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  20 June, 2025 8:01 pm


काठमाडौँ । नेपालमै पहिलोपटक निर्माण सम्पन्न भएको ललितपुरस्थित ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्वाधार विकास एक नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेका छन् ।

विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले “नेपाल अब दुर्गम देशबाट सुगम देशमा रूपान्तरण हुँदैछ” भन्दै समृद्धिको मार्गमा देश दृढताका साथ अघि बढिरहेको बताए ।

प्रधानमन्त्री ओलीले ग्वार्को फ्लाइओभरको सफल निर्माणलाई “नेपालमा आधुनिक पूर्वाधार निर्माणको नयाँ अध्याय” को रूपमा उल्लेख गरे । उनले फ्लाइओभर सवारी जामको दीर्घकालीन समाधान हुने विश्वास व्यक्त गर्दै निर्माण कार्यमा संलग्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, ठेकेदार कम्पनी, इन्जिनियर र श्रमिकहरूलाई धन्यवाद ज्ञापन गरे ।

उनले केही ढिलाइ भए पनि जनताको समझदारी र धैर्यको सराहना गर्दै सफलतापूर्वक परियोजना सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गरे ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले देशका विभिन्न क्षेत्रका समृद्धिमुखी योजनाहरू पनि उल्लेख गरे । दैलेखमा पत्ता लागेका मिथेन ग्यास भण्डारलाई नेपालका लागि ऊर्जा आत्मनिर्भरताको सुरुवात भएको बताउँदै उनले भने, “तीन वटा कुँवामध्ये एउटा कुँवामा मात्र ५० वर्ष पुग्ने ग्यास पाइएको छ, जसले नेपालको ऊर्जा सुरक्षा बलियो बनाउनेछ।”

उनले धौवादी फलाम खानीको प्रगति र आगामी दिनमा फलाम तथा स्टिल प्रशोधन उद्योग स्थापना गरेर नेपाललाई धातुजन्य सामग्रीमा आत्मनिर्भर बनाइने योजना पनि प्रस्तुत गरे ।

कृषिमा आधुनिकीकरण, तराईका भूभागमा सिँचाइ विस्तार, सुनकोशी–मरिन डाइभर्सन आयोजना, र तीन बाली लगाउन सकिने जमिनको उत्पादन वृद्धि योजनाहरू उनले विकासको स्पष्ट संकेतका रूपमा प्रस्तुत गरे ।

प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रमा समेत प्रगति भएको दाबी गर्दै अहिले थुप्रै नयाँ उद्योग सञ्चालनमा आएको, म्याग्नेसियम उद्योग पुनः सञ्चालनतर्फ उन्मुख रहेको जानकारी दिए । उनले परम्परागत, आउटडेटेड उद्योगहरूप्रति गुनासो गर्दै, प्रतिस्थापन हुने नयाँ प्रविधिमैत्री उद्योगहरू स्थापना गर्न लागिएको बताए ।

पूर्वाधार विकासको चर्चा गर्दै उनले मदन भण्डारी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, र एशियन स्ट्यान्डर्ड पूर्व–पश्चिम राजमार्गलाई चार र छ लेनमा विस्तार गर्ने योजना रहेको उल्लेख गरे ।

हुलाकी राजमार्गले तराईको स्वरूप नै परिवर्तन गरिरहेको भन्दै उनले तराईको सिंगो भौगोलिक मुहार परिवर्तन हुने विश्वास पनि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले सरकारको प्रमुख ध्यान सामाजिक क्षेत्रतर्फ पनि केन्द्रित रहेको स्पष्ट पारे । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भइरहेको सुधारलाई उदाहरण दिँदै उनले देशभरि आधुनिक अस्पताल, विद्यालय, क्याम्पस, एम्बुलेन्स सेवा तथा खानेपानी पम्पिङ प्रणाली गाउँ-गाउँमा पुर्याइँदै गरेको जानकारी दिए ।

सञ्चार, विद्युत्, यातायातजस्ता पूर्वाधारका क्षेत्रमा पनि तीव्र प्रगति भइरहेको बताउँदै उनले सरकार दृढ प्रतिबद्धताका साथ विकासको नेतृत्व गरिरहेको भन्दै सबै नागरिकको साथ र समर्थनको अपेक्षा गरे ।

उनले विकासलाई अवरोध गर्ने निराशावादी प्रवृत्तिहरूप्रति संकेत गर्दै भने, “कसैले विकास भयो भनेर चिन्ता नगुनुन्, विकास अवश्य हुन्छ । हामी आफैं गर्न सक्छौं भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले ब्युरोक्रेसी, इन्जिनियर, श्रमिक, ठेकेदार र अन्य सबै सरोकारवालाहरूलाई धन्यवाद दिँदै, यो सफलताको श्रृंखला देशका अन्य भागमा पनि विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो मन्तव्य समाप्त गरे ।

ग्वार्को फ्लाइओभर उद्घाटनलाई नेपालको पूर्वाधार इतिहासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ, जसले देशभरि यस्तै स्तरीय पूर्वाधार निर्माणको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !