२० मंसिर २०८२, शनिबार

कर्णालीको भविष्य युवाको काँधमा छ-मुख्यमन्त्री कँडेल

प्रकाशित मिति :  20 June, 2025 8:45 pm


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको सामाजिक, आर्थिक र संरचनागत अवस्थाको रूपान्तरण गर्ने जिम्मेवारी अबका युवाको काँधमा रहेको स्पष्ट रूपमा बताएका छन् ।

राष्ट्रिय युवा परिषद् नेपाल, कर्णाली प्रदेशद्वारा आयोजना गरिएको “युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन २०८२” लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले युवामै समृद्ध कर्णाली निर्माणको सम्भावना रहेको धारणा राखे ।

मुख्यमन्त्री कँडेलले आजको पुस्ताका युवाहरूमा ज्ञान, सोच, र सीपको अभाव नरहेको उल्लेख गर्दै भने, “अब आत्मविश्वास र नेतृत्वदायी भूमिका विकास गर्न सकियो भने, आजको समय हिजोको भन्दा धेरै सहज र अवसरदायी छ।”

उनले कर्णाली प्राकृतिक स्रोत र सम्भावनाले भरिएको क्षेत्र भएको उल्लेख गर्दै त्यसको उचित व्यवस्थापन, उपयोग र प्रवर्द्धन गर्न सके कर्णालीको उज्यालो भविष्यको ढोका खुल्ने बताए ।

कार्यक्रममा मुख्यमन्त्री कँडेलले श्रमको सम्मान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै उद्यमशील युवा, कृषक तथा पर्यटन व्यवसायीका लागि प्रदेश सरकारले सहुलियत कार्यक्रम ल्याउने नीति लिएको जानकारी गराए ।

उनले भने, “हामी कृषि, पर्यटन र लघु उद्योगलाई प्राथमिकतामा राखेर अघि बढ्दैछौं। युवाको सीप र सामर्थ्य उत्पादनसँग जोड्ने नीति प्रदेश सरकारले अवलम्बन गरेको छ ।”

विदेशबाट फर्किएका युवाहरूको अनुभव र सीपलाई मुलुकको उत्पादन प्रणालीसँग जोड्न सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो । उनले युवालाई गाउँमा आएको विकासको मूल्यांकन गर्न, समाजलाई सकारात्मक दृष्टिकोणले नेतृत्व दिन र निराशा होइन, आशा बाँड्ने अभियानमा जुट्न आह्वान गरे ।

कार्यक्रममा विभिन्न उद्यमी युवा, सरोकारवाला, नीति निर्माता तथा युवासँग प्रत्यक्ष सरोकार राख्ने संघसंस्थाको सहभागिता रहेको थियो । सम्मेलनले कर्णाली प्रदेशमा युवा उद्यमशीलताको सम्भावना र चुनौतीबारे गहन छलफलको वातावरण निर्माण गरेको आयोजकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !