अवस्था : देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ भने अन्य प्रदेशहरूमा पनि एक–दुई स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
रातको समयमा पनि मौसम आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। अन्य प्रदेशहरूमा पनि थोरै स्थानमा वर्षा हुन सक्ने पूर्वानुमान छ ।
मौसम विभागले वर्षाका कारण नदीहरूमा पानीको बहाव बढ्न सक्ने, बाढी र पहिरोको जोखिम बढ्ने, र यसले जनस्वास्थ्य, कृषि, यातायात तथा दैनिक जनजीवनमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विशेष गरी पहाडी तथा हिमाली भू–भागमा यात्रा गर्दा थप सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।








