२४ मंसिर २०८२, बुधबार

योगलाई दिनचर्याको हिस्सा बनाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रकाशित मिति :  21 June, 2025 1:06 pm


ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई मानव जीवनको वैज्ञानिक र बहुआयामिक अभ्यासको रूपमा व्याख्या गर्दै यसलाई सबैले आफ्नी दैनिक दिनचर्यामा समावेश गर्नुपर्नेमा जोड दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित “११ औं विश्व योग दिवस २०२५” को अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा “सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने नारासहित सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योगलाई स्वस्थ, अनुशासित र समुन्नत जीवनको मूल आधारको रूपमा चित्रण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, “योग मानव जातिको कल्याण, विश्वशान्ति, समृद्ध नेपाल, सुखी नेपाली निर्माणका लागि नेपालको योगदान हो ।” उनले योगका आठ सूत्रमध्ये अनुशासनलाई अत्यन्त महत्वपूर्ण बताउँदै भने, “अनुशासनविना ध्यान हुँदैन, ध्यानविना स्थिरता हुँदैन, स्थिरता विना सच्चा योग सम्भव छैन ।”

उनले वर्तमान नेपाली समाज अनुशासनको अभावबाट पीडित रहेको उल्लेख गर्दै योगले व्यक्ति र समाजलाई अनुशासित बनाउने विश्वास व्यक्त गरे । “जिम गएर मसल मात्रै बनाउँदा हुँदैन, विवेकसहितको योग आवश्यक छ,” उनले भने ।

प्रधानमन्त्री ओलीले आरोग्य जीवनका लागि खानपान, योग र आरामको सन्तुलन आवश्यक भएको उल्लेख गर्दै विषादीरहित खानामा ध्यान दिनुपर्नेमा जोड दिए । “पेट भर्ने मात्र नभई स्वास्थ्यका लागि खानेकुरामा सचेत हुनुपर्छ। अस्पताल र डाक्टर चाहिन्छ, तर त्यसको विकल्प योग, ध्यान र निरोगी जीवन हो,” उनले स्पष्ट पारे ।

उनले आफू प्रधानमन्त्री बन्नासाथ ‘निरोगी नेपाल’ अभियान सुरु गरेको स्मरण गर्दै भने, “निरोगी नेपाल भन्नुको अर्थ रोग लाग्नै नदिने हो, त्यसका लागि योगलाई नियमित अभ्यासको रूपमा लिनुपर्छ।”

प्रधानमन्त्री ओलीले जीवनमा सत्य, अहिंसा, अनुशासन र स्वस्थताको अभ्यास आवश्यक रहेको उल्लेख गर्दै विश्वलाई आज शान्तिको आवश्यकता भएको बताए । “हिंसा होइन, अहिंसा चाहिएको छ। हतियारधारी र अहंकारीहरूले यदि यो कुरा बुझे भने विश्वमै शान्ति सम्भव हुन्छ,” उनले भने ।

योगलाई घरमै बसेर अभ्यास गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्रीले पवित्र सोच, सदाचार, र लोभरहित जीवनशैली अंगीकार गर्न आग्रह गरे । “योगले शरीर, मन, स्वास्थ्य र समाजसँग सम्बन्ध राख्छ,” उनले स्पष्ट पारे ।

साथै, उनले ब्रह्मचर्य र योगलाई जीवनका जैविक तथा मानवीय आवश्यकता नअस्वीकार गर्ने अभ्यास नभई सामाजिक अनुशासन र संयमित जीवनशैलीको अभ्यास भएको उल्लेख गरे । “समाजको मान्यताभित्र बस्नुपर्छ, कानूनभन्दा पहिले समाजले थिति बनाएको हुन्छ,” उनको भनाइ थियो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले योगले मुटु स्वस्थ राख्न र शरीरलाई चलायमान बनाउन सघाउ पुर्याउने उल्लेख गर्दै लापरवाह जीवनशैली त्यागेर योग र ध्यानमार्फत खुशी जीवन बिताउन सबैमा आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !