१९ मंसिर २०८२, शुक्रबार

नारायणघाट–बुटवल सडक खण्ड फेरि बन्द हुने : राति १० घण्टा सवारी आवागमन रोक

प्रकाशित मिति :  21 June, 2025 2:21 pm


बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड पुनः बन्द गरिने भएको छ । दुर्घटनाको जोखिम बढेसँगै आजदेखि प्रत्येक रात १० घण्टा यो सडक खण्डमा सवारी आवागमनमा पूर्ण रोक लगाइने सडक विभाग आयोजनाको निर्देशनालय (एडिबी) ले जनाएको छ ।

निर्देशनालयका निर्देशक इञ्जिनियर चुडाराज ढकालका अनुसार दुम्कीबास खण्डमा पर्ने विनयी खोलामा निर्माण गरिएको डाइभर्सन बारम्बार बग्ने समस्या देखिएको र सो स्थानमा नयाँ पुल सञ्चालनमा नआउञ्जेलसम्म प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने निर्णय गरिएको हो ।

उक्त निर्णय जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा शुक्रबार बसेको बैठकबाट गरिएको हो ।

ठूला सवारीसाधन चौबीसै घण्टा रोक

निर्देशक ढकालका अनुसार ठूला र मालवाहक सवारीसाधनलाई भने आजदेखि चौबीसै घण्टा सो सडक खण्डमा चल्न नदिने निर्णय गरिएको छ । वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै उहाँले साना सवारीसाधनका लागि पनि दिउँसो यात्रा गर्दा सडकको अवस्था मूल्याङ्कन गरेर मात्र यात्रा गर्न सुझाव दिए ।

चार लेनमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा पनि अत्यधिक हिलो हुने भएकाले सवारी आवागमनमा कठिनाइ हुँदै आएको छ । त्यस्तै, विनयी खोलाको बाढीले बारम्बार डाइभर्सन बगाउँदा सडक सञ्चालनमा समस्या उत्पन्न भएको हो ।

यसअघि पनि लगातारको वर्षातका कारण सो सडक खण्डमा आवागमन अवरुद्ध हुने अवस्था आइरहेको थियो । अहिलेको निर्णयले निर्माण सम्पन्न नभएसम्म राति सडक पुनः बन्द हुने स्पष्ट भएको छ ।



प्रतिक्रिया दिनुहोस !