२० मंसिर २०८२, शनिबार

देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  22 June, 2025 8:08 am


काठमाडौँ । देशभर मनसुनी वायुको सक्रिय प्रभाव कायमै रहेकाले आज विभिन्न भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बुलेटिनअनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार देशका पहाडी भू–भागमा अधिकांश स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । साथै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का वर्षासँगै हिमपातसमेत हुने सम्भावना रहेको जनाइएको छ ।

महाशाखाले दिउँसोको अवस्थाबारे जानकारी दिँदै बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी भेगमा धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताएको छ । कोशी प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, मधेस र बागमती प्रदेशका केही भू–भागमा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

वर्षाले नदी तथा खोला–नाला, जलाशयको सतह बढ्न सक्ने, भूक्षय, बाढी र पहिरोको जोखिम बढ्ने भएकाले महाशाखाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन नागरिकहरूलाई अनुरोध गरेको छ । महाशाखाले मौसम अपडेट तथा सतर्कताका सन्देशहरू नियमित रूपमा पछ्याउन समेत सबैलाई अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !