२० मंसिर २०८२, शनिबार

स्याङ्जामा आठ जना फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति :  23 June, 2025 12:45 pm


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न म्याद र मुद्दामा फरार रहेका आठ जना प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। फरार रहेका प्रतिवादीहरूलाई खोजी गर्दै प्रहरीको विशेष अपरेसन टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका आठ जना प्रतिवादीहरूमध्ये नौ वटा फरक–फरक मुद्दामा संलग्न व्यक्तिहरू रहेका छन्। उनीहरूलाई अदालतबाट तोकिएको सजायअनुसार कुल दुई वर्ष एक महिना दस दिन कैद र एक लाख चार हजार पाँच सय पचास रूपैयाँ २१ पैसा जरिवाना तिराउने गरी जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको हो।

पक्राउ परेका प्रतिवादीहरूमा स्याङ्जा, वालिङ, पुतलीबजार, भिरकोट, कालिगण्डकी लगायतका स्थानीय तहहरूका बासिन्दा रहेका छन् भने एक जना प्रतिवादी तनहुँ जिल्लाबाट रहेका छन्। उनीहरूमाथि लेनदेन, जालसाजी, सम्बन्ध विच्छेद, चोरी, दुनियावादी फौजदारी र बैंकिङ कसूर सम्बन्धी मुद्दाहरू रहेका थिए।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि यस्ता विशेष अपरेसनहरूलाई निरन्तरता दिने जनाएको छ।



प्रतिक्रिया दिनुहोस !