१९ मंसिर २०८२, शुक्रबार

राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित : आजै बजेट ल्याउने तयारी

प्रकाशित मिति :  24 June, 2025 3:29 pm


तुलबहादुर कवँर मगर,
देउखुरी । दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ।

दोस्रो गाउँसभाको सातौँ अधिवेशन अन्तर्गत मङ्गलबार बसेको पहिलो बैठकमा पालिकाका अध्यक्ष प्रकाश विष्टले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफलपछि केही बुँदामा संशोधन गर्दै सर्वसम्मत पारित गरिएको हो ।

विशेषतः शिक्षा क्षेत्रसँग सम्बन्धित बुँदाहरूमा व्यापक छलफल भएको थियो। प्रस्तुत कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र पहुँच अभिवृद्धिका लागि विद्यालय व्यवस्थापन समितिलाई थप जिम्मेवार बनाउँदै संयुक्त साझेदारी कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

यस्तै, गाउँपालिकाबाट दिइँदै आएको शिक्षक अनुदान क्रमशः घटाउने र विद्यालयहरूको अवस्था विश्लेषण गरी आवश्यकताअनुसार गाभ्ने (मर्जर) नीतिको पनि घोषणा गरिएको छ ।

पालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलमान चौधरीका अनुसार, शिक्षा सम्बन्धी यी बुँदाहरूमा आवश्यक संशोधनसहित नीति तथा कार्यक्रम पारित गरिएको हो ।

बैठकले आर्थिक वर्ष २०८१/८२ मा कार्यपालिकाबाट भएका निर्णयहरू समेत अनुमोदन गरेको छ । यसअघि, असार ६ गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र उद्यम विकासलाई विशेष प्राथमिकता दिइएको थियो । समावेशी, दिगो र समृद्ध राप्ती गाउँपालिका निर्माण गर्ने लक्ष्यका साथ कार्यक्रम प्रस्तुत गरिएको अध्यक्ष विष्टले बताएका थिए ।

गाउँपालिकाको यो नीति तथा कार्यक्रम आगामी वर्षका लागि स्पष्ट दिशा र प्राथमिकता तय गर्ने दस्तावेजका रूपमा लिइएको छ।



प्रतिक्रिया दिनुहोस !