२४ मंसिर २०८२, बुधबार

अध्यक्ष ओलीले तिरे लेबी : पार्टी दायित्व पूरा गर्न च्यासल कार्यालयमै उपस्थित

प्रकाशित मिति :  25 June, 2025 3:51 pm


काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीको सदस्यता नविकरण शुल्क र लेबी बुझाएका छन् । उनी स्वयं केन्द्रीय कार्यालय च्यासल पुगेर पार्टीप्रति आफ्नो आर्थिक दायित्व पूरा गरेका हुन् ।

च्यासलस्थित केन्द्रीय कार्यालयको वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर ओलीले निर्धारित शुल्क तिरेका थिए । उनलाई पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद हस्तान्तरण गरेका थिए ।

अध्यक्ष ओलीको यो कदमलाई पार्टी अनुशासन तथा नेतृत्वदायी भूमिकाको उदाहरणको रूपमा लिइएको छ । एमालेले प्रत्येक वर्ष सदस्यता नविकरण तथा लेबी तिर्ने अभियान सञ्चालन गर्दै आएको छ ।

पार्टीको आन्तरिक संरचना सुदृढीकरणका लागि आर्थिक पारदर्शिता र दायित्व निर्वाहलाई प्राथमिकता दिइएको सन्देश अध्यक्ष ओलीको सहभागिताबाट झनै सुदृढ भएको देखिन्छ ।

पार्टीको विभिन्न तहका सदस्यहरूले पनि समयमै आफ्नो सदस्यता नविकरण तथा लेबी बुझाउन आवश्यक रहेको भन्दै अध्यक्ष ओलीले सबैलाई प्रेरणा दिन सक्ने काम गर्नुभएको नेताहरूले बताएका छन् ।

यसअघि पनि ओली समय–समयमा पार्टीको आन्तरिक व्यवस्थापनमा प्रत्यक्ष सक्रियता जनाउँदै आएका छन्। आजको यो कदमले पार्टीभित्र अनुशासन, उत्तरदायित्व र पारदर्शिताको सन्देश प्रवाह गरेको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !