१९ मंसिर २०८२, शुक्रबार

जङ्गलको विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

प्रकाशित मिति :  27 June, 2025 8:36 am


रुपन्देही । रुकुम पूर्वको मुसिकोट नगरपालिका–४, दिगामचौरमा जङ्गलबाट ल्याइएको विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेमा ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गाबहादुर सारुले दिएको जानकारी अनुसार बिहीबार जंगलबाट टिपेर ल्याइएको च्याउ पकाएर खाएपछि ती व्यक्तिहरूलाई रातिदेखि नै टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो ।

घटनापछि इन्द्रगौडा प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई तत्कालै उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभासमा पठाएको थियो । प्रहरी टोलीको नेतृत्व प्रहरी हवल्दार कृष्णमोहन केवटले गरेका थिए ।

हाल उनीहरुको अवस्था खतरामुक्त रहेको र स्वास्थ्यमा क्रमिक सुधार आइरहेको प्रहरीले जनाएको छ । च्याउ विषाक्त रहेको आशंका गरिएपछि स्थानीयवासीलाई जङ्गलबाट टिपिएको अपरिचित च्याउ नखान प्रहरी प्रशासनले आग्रह गरेको छ ।

यसअघि पनि देशका विभिन्न स्थानहरूमा विषालु च्याउ खाँदा बिरामी पर्ने वा मृत्यु हुने घटनाहरू भइरहेकाले सतर्कता अपनाउन चिकित्सक तथा सुरक्षाकर्मीले चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !