२० मंसिर २०८२, शनिबार

देशभर मनसुनी वायुको प्रभाव : भारी वर्षासँगै बाढी र पहिरोको जोखिम

प्रकाशित मिति :  27 June, 2025 8:42 am


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी प्रणालीको प्रभावका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि उल्लेख गरिएको छ ।

यससँगै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना पनि औँल्याइएको छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ । त्यसैगरी, उच्च पहाडी तथा हिमाली भू–भागमा पनि हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ ।

भारी वर्षाका कारण नदीहरूको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयजस्ता प्राकृतिक प्रकोपको सम्भावना रहेकाले जनस्वास्थ्य, कृषि, यातायात, दैनिक जनजीवनमा असुविधा वा जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !