कृषकको प्रश्न : कहिले मिल्छ हामीलाई सहज कृषि गर्ने अधिकार ?
दाङ । “रोप्नलाई खेत तयार छ, पानी पनि पुगेको छ तर मल छैन । खेत हेर्दा आँखा रसाउँछन्”, घोराही–१३ सेवार बनगाउँकी सुन्दरी चौधरी बोल्दा उनका आँखामा आँसु झल्किरहेका थिए । प्रेस चौतारी नेपाल, घोराही नगर समितिले आयोजना गरेको किसानसँग चौतारी कार्यक्रममा उनी मल नपाएर रोपाइँ गर्न नसकेको पीडा पोख्दै थिइन् ।
चौधरीको यो गुनासो केवल व्यक्तिगत थिएन–यो त हजारौं किसानको साझा स्वरजस्तै गुञ्जियो । कार्यक्रममै अर्का कृषक जगलाल चौधरीले मलको हिसाब पनि काढेर सुनाए, “हरेक कृषकलाई ३ बोरा डिएपी र २ बोरा युरिया चाहिन्छ । यो बिना खेती सम्भव छैन तर हरेक वर्ष यही मलकै लागि भौंतारिनुपर्छ ।”
कृषि सिजनमा जब रोपाइँको हतार छ, किसानलाई मल खोज्न लाइन बस्नुपर्छ, टोकन लिन पालो कुरिरहनुपर्छ, अनि अलिकति मल पाएजस्तो लाग्दा पनि अर्काे किसान खाली फर्किन्छ । यही विडम्बनाले किसानहरूमा भरोसा होइन, आक्रोश र थकान थोपर्छ ।
कार्यक्रममा बोल्दै किसान महासंघ दाङका अध्यक्ष केशव गिरीले वर्षाैंदेखि दोहोरिरहेको मल अभावको कथालाई अलि गहिरिएर विश्लेषण गरे । उनले भने, “मल वितरण प्रणालीमै गडबडी छ । सहकारी खोलिएको छ तर त्यसले साना किसानलाई समेट्न सक्दैन । समानुपातिक होइन, पहँुचवालालाई प्राथमिकता दिने प्रवृत्तिले हामी किसानहरू फेरि पनि बन्चित भइरहेका छौँ ।”
अध्यक्ष गिरीले कृषि उपजको बजारीकरणमा पनि समस्या रहेको बताए । उत्पादन बढे पनि बजार सुनिश्चित नभएका कारण किसानहरू हतोत्साहित हुने अवस्था आएको उनले उल्लेख गरे । “दाङमा उत्पादित महको ब्राण्डिङमा समस्या छ”, गिरीले भने, “ब्राण्डिङ सुधार नगर्दासम्म स्थानीय उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् ।”
उनले बिउबिजनको पहिचानमा किसानहरूलाई सहयोग पु¥याउन सम्बन्धित निकायलाई आग्रह गरे । कृषिमा आधारभूत सुधारका लागि किसानहरूलाई व्यावसायिक रूपमा सशक्त बनाउनुपर्ने उनको धारणा थियो ।
गिरीले दाङको कृषि पहिचानसँग जोडिएका तोरी र मौरीपालक किसानहरूबीच देखिएको विवाद समाधानतर्फ पनि सरोकारवाला निकायले पहल गर्नुपर्ने बताए । “यो विवादले हाम्रो सामूहिक उत्पादन र ब्राण्डिङ दुबैमा असर गर्छ”, उनले भने । उनले कृषि सञ्जाल विस्तार गरेर किसानबीचको सहकार्य, ज्ञान आदानप्रदान र साझा बजार सुनिश्चित गर्न सकिने धारणा राखे ।
मल मात्र हैन, पशुपालन गर्ने किसानको बेग्लै पीडा छ । बंगुरपालक तुलसीराम बुढामगरले बंगुरको उपचारलाई लिएर हृदयविदारक अनुभव बाँडे । “पशु प्राविधिक कार्य समयमा आइदिँदैन । राति फोन गर्दा आउँछन् तर पैँसा माग्छन् । किसानले कसरी पँैसा खर्च गर्न सक्छ ?”, उनले जोड दिए, “बंगुरलाई अस्पताल लैजान सकिन्न । प्राविधिक खोरसम्म आइदिनुपर्छ । यो हाम्रो अनुनय हो ।”
बुढामगरको कुरा सुन्दा लाग्छ–पशुपालक कृषक आफ्नो पेशा होइन, जस्तोसुकै जोखिम बोकेर गुजारा गर्ने बाध्यता ओगटिरहेका छन् । उनले स्पष्ट माग राखे, “अनुदानभन्दा बढी आवश्यक छ व्याज अनुदान । औषधिको मूल्यसूची होस् । बधशाला बनोस् । हामीले उत्पादन गरेकै भरमा बाँच्न पाइयोस् ।”
कृषकका गुनासा सुनिसकेपछि कृषि सामग्री केन्द्र दाङका प्रमुख टोपाराम गौतमले तीतो यथार्थ खुलाए । “नेपाललाई १२ लाख मेट्रिक टन मल चाहिन्छ । सरकारले भने साढे ५ लाख मेट्रिक टन मात्र खरिद गर्न बजेट दिएको छ ।” यसले स्पष्ट पार्छ–कृषिमा सरकारको प्राथमिकता अझै भाषणमा सीमित छ, व्यवहारमा होइन ।
साल्ट ट्रेडिङ कर्पाेरेसनका प्रमुख रामबाबु गुप्ताले भने, जिल्लामा सूचिकृत ७२ सहकारीलाई उपलब्ध मल समानुपातिक रूपमा बाँडिएको बताए तर किसानको अनुभूति के भन्छ ? “हामीले कहिले पाएनौँ त्यो बराबरी मल”, किसान सुन्तली चौधरीको जवाफले नै थुप्रै प्रश्न उठाउँछ ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले जिल्लामा १ लाखभन्दा बढी किसान रहेको तथ्य सुनाउँदै कृषिमा लगानी अभिवृद्धिको आवश्यकता औंल्याए । “कृषि उत्पादनमा राज्य गम्भीर नभएसम्म किसानको अवस्था फेरिँदैन”, उनले भने ।
घोराही नगर समिति अध्यक्ष महेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारी नेपालका निवर्तमान उपाध्यक्ष सविन प्रियासनले भने, कृषि समृद्धिको मेरुदण्ड भएकाले सबै कृषि क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । सबैलाई उत्पादनमा जोडिएर आत्मनिर्भरतातर्फ लाग्न प्रियासनको आग्रह थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश इञ्चार्ज टीकाबहादुर बस्नेतले किसानका समस्या उजागर गर्नका लागि कार्यक्रम आयोजना गरेकोमा घोराही नगर समितिलाई धन्यवाद दिँदै किसानका समस्या समाधानका लागि गम्भीर बन्न सरोकारवाला निकायलाई आग्रह गरे । कार्यक्रममा बोल्दै नेकपा एमाले दाङका प्रचार प्रमुख संगित बस्यालले जिल्लाका हरेक बालीलाई ब्राण्डिङमा ध्इान दिनुपर्ने बताए । नगर समिति सदस्य नवराज खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सचिव सञ्चालन दीपक वलीले गरेका थिए ।








