१ जेष्ठ २०८३, शुक्रबार

पुष्प व्यवसायमा एमआरपी र लेबलिङ नियमबारे अन्योल, लचिलो नीतिका लागि फ्यानको पहल

प्रकाशित मिति :  15 May, 2026 12:42 pm


काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले अधिकतम खुद्रा मूल्य (एमआरपी) र लेबलिङसम्बन्धी नयाँ सरकारी नियमले पुष्प व्यवसायमा व्यावहारिक चुनौती सिर्जना गरेको भन्दै सम्बन्धित निकायसँग लचिलो नीति अपनाउन छलफल र पहल भइरहेको जनाएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैशाख २६ गते जारी गरेको सूचनाअनुसार बजारमा बिक्री हुने वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य र लेबलिङ उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरिएको छ। मूल्य पारदर्शिता कायम गरी उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यसहित ल्याइएको उक्त नीतिलाई फ्यानले सकारात्मक रूपमा लिएको भए पनि यसको कार्यान्वयन पक्षमा भने चुनौती देखिएको जनाएको छ।

फ्यानले विशेषगरी शीघ्र नष्ट हुने प्रकृतिका फूल तथा पुष्पजन्य वस्तुमा एमआरपी प्रणाली व्यवहारिक रूपमा लागू गर्न कठिनाइ हुने भन्दै यस विषयमा सरकारले लचिलो नीति अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ। संगठनका अनुसार यस्तो प्रकृतिका उत्पादनमा मूल्य निर्धारण र लेबलिङ व्यवहारिक रूपमा जटिल हुने भएकाले व्यवसायीहरू प्रभावित हुने अवस्था रहेको छ।

सरकारले हाल ‘मूल्य पारदर्शिता सप्ताह’ घोषणा गरी देशभर अनुगमन अभियान सञ्चालन गरिरहेको सन्दर्भमा व्यवसायीहरूबीच एमआरपी र लेबलिङसम्बन्धी अन्योलता बढेको फ्यानले जनाएको छ। यस विषयमा स्पष्टता ल्याउन आवश्यक रहेको भन्दै फ्यानले छिट्टै सचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने तयारीसमेत गरेको छ।

संस्थाले हालसम्म स्पष्ट नीतिगत व्याख्या नआएसम्म व्यवसायीहरूलाई संयमता अपनाउँदै सम्भव भएसम्मका प्रक्रिया पालना गर्न आग्रह गरेको छ।

फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठका अनुसार सरकारले ल्याएको नीति कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर संवाद भइरहेको उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस !