सुनसरीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा बाबुछोरासहित तीन जनाको मृत्यु
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा–कान्छी चोक सडकखण्डमा गए राति भएको दुई मोटरसाइकलबीचको भीषण ठोक्किँडामा बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कालाबन्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएपछि दुर्घटना भएको हो ।
मृत्यु हुनेहरूमा रामधुनी–७ निवासी ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी र इटहरी–७ निवासी ५१ वर्षीय बिन्दु यादव रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकामध्ये इनर्चनकी ३२ वर्षीया श्रीमती प्रतीक्षा चौधरी र यादवसँग सवार ३६ वर्षीय रमेश चौधरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पाँचै जना दुर्घटनापछि गम्भीर घाइते अवस्थामा उद्धार गरि तुरुन्तै अस्पताल लगिएको भए पनि तीन जनाको उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
स्थानीयवासीका अनुसार उक्त सडकखण्डमा सवारीसाधनको चाप उच्च हुने भए पनि सडक सुरक्षाका उपायहरू न्यून छन्, जसले यस्ता दुर्घटनाको जोखिम बढाइरहेको छ । घटनापछि स्थानीयहरूमा शोक र आक्रोश दुबै देखिएको छ।








