बाढीले वैकल्पिक सडक अवरुद्ध : दुम्कीबास डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग ठप्प
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको दुम्कीबासस्थित विनयी खोलामा आएको बाढीले वैकल्पिक सडक अवरुद्ध बनाउँदा पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा ठप्प भएको छ।
आज बिहानदेखि निरन्तर परेको वर्षाका कारण खोलामा आएको बाढीले साना तथा यात्रुवाहक सवारीसाधनका लागि प्रयोग हुँदै आएको होङ्सी गेट–सर्दी–ज्यामिरे मार्ग खण्डमा पर्ने खरङ्गे खोलामा यातायात पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपालले जानकारी दिए ।
डिएसपी नेपालका अनुसार ठूला सवारीसाधनहरूका लागि विनयी खोलामा अस्थायी रूपमा निर्माण गरिएको डाइभर्सन प्रयोग गरिँदै आएको थियो तर खोलामा आएको ठूलो बाढीले डाइभर्सन बगाएको छ । वैकल्पिक मार्गसमेत अवरुद्ध भएपछि हाल पूर्व–पश्चिम राजमार्ग दुम्कीबास खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो ।
“डाइभर्सन बग्यो, वैकल्पिक बाटो खोलामा डुब्यो, अहिले सबै यातायात अवरुद्ध छन्,” डिएसपी नेपालले भने, “सवारीसाधनलाई सुरक्षित स्थानमा ‘होल्ड’ गरिएको छ । अहिले बाढी घट्ने प्रतीक्षामा छौं ।”
विनयी खोलामा रहेको पक्की पुल केही महिनाअघि भत्किएपछि सो खण्ड अस्थायी डाइभर्सनमार्फत सञ्चालनमा ल्याइएको थियो। तर पानी पर्नासाथ डाइभर्सनमा क्षति पुग्ने क्रम दोहोरिइरहेको छ । हाल डाइभर्सन भरमै यातायात सञ्चालन हुँदै आएको थियो ।
यता, नयाँ पुल निर्माणको काम भने अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ। पुल सम्पन्न भएपछिमात्रै बारम्बार हुने अवरोधको स्थायी समाधान हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, नवलपुरकै दाउन्ने खण्डमा सडक स्तरोन्नति तथा चौडा गर्ने कार्य नसकिँदा वर्षात् पर्नासाथ चिप्लो र जोखिमयुक्त बन्ने समस्या यथावत् रहेको छ । बर्खायाममा यस्ता सडक खण्डहरू यात्रु तथा सवारीचालकका लागि ठूलो चुनौती बन्ने गरेको छ । प्रहरीले यात्रुहरूलाई अत्यावश्यक नपरेसम्म सो क्षेत्र हुँदै यात्रा नगर्न तथा वैकल्पिक मार्ग छनोट गर्न आग्रह गरेको छ।








