बजेटलाई लाक्षणिक बनाई मेराे चरित्र हत्या गर्न खोजियो- मन्त्री ढकाल
दाङ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामाथि भइरहेको अनावश्यक र कपोकल्पित टिप्पणीप्रति गम्भीर आपत्ति जनाएका छन् ।
उनले बजेट निर्माण एक नियमित, विधिसम्मत प्रक्रिया भएको स्पष्ट पार्दै, त्यसलाई तोडमोड गरी जनतामा भ्रम सिर्जना गर्न खोजिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
मन्त्री ढकालले भने, “बजेट निर्माण एउटा प्रक्रिया हो । त्यो पूरा भइसकेको छ तर यसलाई अनावश्यक रूपमा तोडमोड गरेर उछाल्न खोज्नुको कुनै औचित्य छैन।”
उनले पछिल्ला केही सञ्चार सामग्रीहरूले सोच्नै नसकिने विषयहरू जोडेर समाचार निर्माण गरेकोप्रति असन्तोष व्यक्त गर्दै मर्यादित पत्रकारिता अभ्यास गर्न सञ्चार जगतलाई आग्रह गरे ।
“माननीय मुख्यमन्त्री हाम्रो अभिभावक हुनुहुन्छ,” भन्दै उनले नेतृत्वमाथि अनावश्यक प्रहार गर्ने प्रवृत्तिले प्रदेश सरकारको विश्वसनीयतालाई चोट पुर्याउने चेतावनी दिए ।
उनका अनुसार बजेट निर्माण प्रदेश सरकारको दोस्रो आवधिक योजना, दिगो विकासको सिद्धान्त र समावेशीताका आधारमा गरिएको हो ।
बजेट प्रदेशको समग्र समृद्धि र पूर्वाधार निर्माणका लागि मार्गनिर्देशक बनाउने उद्देश्यले तयार पारिएको स्पष्ट गर्दै मन्त्री ढकालले सञ्चार माध्यमहरूले बजेटको मर्म र उद्देश्यलाई जनतासामु पुर्याउने सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
“तथ्यहीन प्रचारले नागरिकको विश्वास गुम्न सक्छ,” भन्ने चेतावनी दिँदै उनले सञ्चार जगतले आफ्नो नैतिकता र पेशागत आचारसंहिता जोगाइराख्नुपर्ने उल्लेख गरे । तथ्य र प्रमाणमा आधारित न्युज प्रस्तुति मात्रै लोकतन्त्रमा स्वस्थ पत्रकारिता र जनविश्वासको जग बन्न सक्ने उनको बुझाइ छ।








